Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अध्याधिक लागु पदार्थ सेवन गर्दा सैनामैनाका एक युवकको मृत्यु

15


रुपन्देही । लागु पदार्थ प्रयोग गर्दै एउटै कोठामा सँगै बसेका दुई दुर्व्यसनीहरुमध्ये एक मृत अवस्थामा फेला परेका छन् । यो घटना सैनामैना नगरपालिकाको हो । सैनामैना–१ का ३० वर्षीय युवाको अत्याधिक लागु पदार्थ सेवनका कारण आज बिहान ज्यान गएको हो ।

२ वर्ष अघि रोजगारीको सिलसिलामा दुबइ गएका मृतक ६ महिना अघि मात्र नेपाल फर्केका थिए । दुबइबाट घर फर्केका निज मृतकका दुर्व्यसनमा परेका साथीहरुबीच झगडा हुँदा गत ज्येष्ठ महिनामा एक महिना जेलमा थुनिएका थिए । एक महिना पछि जेलमुक्त भएका मृतक कुनै जागिर काम नगरी घरमै बस्दै आएका थिए ।

यस बीच मृतकका साथीहरु घरै आउने र उनलाई लिएर जाने गर्दथे तर कुनै अप्रिय घटना भने भएको थिएन । मृतकले दुबईमा कमाएको पैसा सबै सकिएपछि उनी थपक्क घरै बसेका थिए । दुबईमा छँदा उनको सेलरी ५५०० दिराम थियो जुन नेरु झण्डै २ लाख हुन्थ्यो तर घरको आर्थिक अवस्था राम्रो भएकाले उनले घर पैसा दिदैनथे । तलब जति आफ्नो बैंक खातामा जमा गर्दथे । बैंकको सारा पैसा  नेपाल फर्केर लागु पदार्थ जुटाउनमा खर्च भएपछि बिगत चार महिनादेखि उनी घरै बसेका थिए ।

सामाजिक सञ्जालमा दुबईमा काम गर्दा बनेकी पाकिस्तानी साथीले केही रकम मृतकको अनुरोधमा नेपालको बैंक खातामा पठाएपछि त्यही रकमले लागु पदार्थको व्यवस्था गरेर बिगत दुई दिनदेखि सैनामैना–१ भवानीटोलमा अर्का दुर्व्यसनी साथीकै घर बस्दै आएका थिए । स्थानीय पसले अनुसार आज बिहान करिब ४ बजे नजिकैको किराना पसलमा गुलियो चिसो दिनुस भन्दै सम्पर्कमा आएका उनी एकछिन पछि  कोठामै मृत अवस्थामा भेटिएका थिए ।

बुटवल प्रादेशिक अस्पतालमा आजै शवको पोस्ट मार्टम पछि आफन्तजनले बुझेर सैनामैना–१ मा स्थित स्थानीय शव दाह गृह कर्साघाटमा दाहसंस्कार गरिएको छ । अस्पताल स्रोत अनुसार पोस्टमार्टम रिपोर्ट एक सातामा आउने छ ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर