Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अब १५ मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा टिकटकमा

16

काठमाडौं । छोटो भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा टिकटक एप सार्वजनिक भएको थियो । सुरुमा १५ सेकेन्डको भिडिओ अपलोड गर्ने सुविधा रहेको यसमा विस्तारै एक मिनेट, तीन मिनेटहुँदै १० मिनेटसम्मको भिडिओ गर्ने सुविधा दिइयो । अब भने टिकटकले १५ मिनेटसम्मको भिडिओ पोस्ट गर्ने सुविधा दिने भएको छ ।

कम्पनीले सुरुवाती चरणमा सीमित क्षेत्रका केही प्रयोगकर्तामाझ याे फिचर परीक्षण थालेको छ । ​टेकक्रन्चले टिकटकसँग कुरा गर्दै उक्त फिचर परिक्षण भइरहेको पुष्टि गरेको छ ।

हाल बढीमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा दिइएको छ । त्यसलाई बढाएर कम्पनीले १५ मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा ल्याउन लागेको हो ।

कम्पनीले यस्तो फिचर ल्याउन लागेको कुरा सबैभन्दा पहिले सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्रराले पत्ता लगाएका थिए । उनले सामाजिक सञ्जाल थ्रेड्समा स्क्रिनशट राख्दै टिकटकले परीक्षण थालेको जानकारी दिएका थिए ।

सो फिचर अन्तर्गत प्रयोगकर्ताले टिकटकको वेब भर्सन र एप दुवैबाट १५ मिनेटको भिडिओ अपलोड गर्न सक्नेछन् । यसअघि टिकटकले १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा ल्याएको थियो ।

सबैभन्दा पहिले १५ सेकेन्डसम्मको मात्र भिडिओ अपलोड गर्न सकिने सो प्लेटफर्मले टाइम लिमिटलाई घटाउँदै ६० सेकेन्ड र पछि तीन मिनेटसम्म बढाएको थियो ।

यससँगै उक्त फिचर उपलब्ध भइसकेपछि क्रियटरले खाना पकाएको, ब्युटी ट्युटोरियल, शिक्षा सम्बन्धी कन्टेन्ट तथा समाचारको भिडिओ लामो फर्म्याटमा राख्न सक्नेछन् ।

विशेषगरी लामो भिडिओका लागि क्रियटरले पार्ट वान, पार्ट टु भनेर राख्ने झन्झट भएकाले त्यसलाई कम गर्दै सोझै १५ मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने सुविधा ल्याउन लागेको कम्पनीले जनाएको छ । टिकटकको यो फिचरले भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबलाई प्रत्यक्ष टक्कर दिने अपेक्षा गरिएको छ ।

प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा सक्रिय बनाइरहन माहिर टिकटकको अल्गोरिदमले लामो भिडिओलाई लक्षित गरेमा युट्युबका अडियन्सलाई प्रभावित पार्न सक्ने विश्लेषकहरू बताएका छन् । पछिल्लो समय दुवै कम्पनीले आफूलाई अब्बल सावित गर्न हरसम्मका प्रयास गरिरहेका छन् ।

युट्युबले छोटा भिडिओमा काम गरिरहको छ भने टिकटकले लामो फर्म्याटका भिडिओलाई लक्षित गरिरहेको छ । केही समयअघि मात्र टिकटकले लामो भिडिओ हेर्ने प्रयोगकर्तालाई लक्षित गर्दै भिडिओ ल्यान्डस्केप मोडमा हेर्न हेर्न सकिने सुविधा ल्याएको थियो ।

पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडिओ शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडिओ अपलोड गर्न सकिने फिचर ल्याइरहेकाे छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ । आफूले प्रमाणित गरेको दायराभन्दा बाहिर गएर समय थप गर्नु कति उपयुक्त र प्रयोगमैत्री हुनेछ भन्ने विषय आगामी दिनमा पक्कै थाहा हाेला ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर