Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अमेरिकाको इन्कार पछि सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने

26

काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् ।

हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपसँग यसअघि अमेरिकाको पाँच वर्षे मल्टिपल भिसा थियो । तर, उक्त भिसा दूतावासले एकपक्षीय निर्णय गरेर बीचमै रद्द गरिदिएको बुझिएको छ । त्यही भएर अहिले फेरि भिसाका लागि आवेदन दिनुपरेको हो ।

हिजो सन्दीपले स्टाटस लेखेर आफूलाई दोस्रोपटक भिसा दिन दूतावासले अस्वीकार गरेको जानकारी दिएका थिए । त्यसलगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासले अहिलेसम्म कुनै पनि प्रष्टीकरण दिएको छैन । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभागी हुने कार्यक्रममा भाग लिन लुम्बिनी पुगेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजै खेलकुद परिषद, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । सबैले यसलाई गम्भीरतापूर्वक लिएको क्यान स्रोतले बतायो । खासगरी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सक्रियतापूर्वक पहलकदमीमा लागेका छन् । क्यान सचिव पारस खड्का र सन्दीपसँग उनको आज बिहानैदेखि छलफल भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर