Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अस्ट्रेलियाविरुद्ध भारत ४४ रनले विजयी

16

काठमाडौं । पाहुना टिम अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न शृंखलाको दोस्रो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ४४ रनको सहज जित निकालेको हो ।

भारतको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९१ रनमात्र जोड्न सक्यो ।

अस्ट्रेलियाका मार्कुस स्टोइनिसले २५ बलमा दुई चौका र चार छक्कासहित ४५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान म्याथ्यु वेडले ४२ रन जोडे । १५५–९ को स्थितिबाट वेडले अन्तिम विकेटका लागि तानवीर सांगासँग ४१ रनको साझेदारी गर्दै अस्ट्रेलियाको फराकिलो हार टारेका थिए । तानवीर दुई रनमा अविजित रहे ।

यस्तै, टिम डेविडले ३७ रन थप्दा स्टिभ स्मिथ र म्याथ्यु सर्टले समान १९ रन बनाए । भारतका प्रसिद्ध कृष्णा र रवि विस्नोइले समान तीन विकेट लिए । अर्शदीप सिंह, अक्सर पटेल र मुकेश कुमारले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३५ रनको योगफल खडा गरेको थियो । भारतका दुई ओपनरसहित क्रमशः तीन ब्याटरले अर्धशतक बनाएका थिए । ओपनरद्वय रितुराज गाइकवाडले ५८ र यशस्वी जयसवालले ५३ रन बनाए । इसान किसनले ५२ रन थपे । रिंकु सिंहले नौ बलमा चार चौका र दुई छक्कासहित ३१ रन थप्दा कप्तान सूर्यकुमार यादव १९ रनमा पभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका नाथन एलिसले तीन विकेट लिए । यस्तै, मार्कुस स्टोइनिसले एक विकेट हात पारे ।  पाँच खेलको ट्वान्टी–२० शृंखलाको निम्ति भारत भ्रमणमा रहेको अस्ट्रेलियाको यो दोस्रो हार हो । यसअघि अस्ट्रेलिया पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो । यो जितसँगै भारतले शृंखलामा २–० को अग्रता बनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर