लोक सारथी
नेपाली फिल्मी जगतमा अभिनय गरेर दर्शकको मन जितेकी रेखा थापा २०७५ सालमा आएको फिल्म ‘मालिका’पछि राजनीतिमा बढी सक्रिय भइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उठिन् । यसपछि उनले सोही पार्टीबाट संघीय निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट सांसद् पदमा उम्मेदवारी दिएकी थिइन् । अब उनी ५ वर्षपछि फिल्म निर्माण र अभिनयमा फर्किएकी छन् ।
उनको निर्माणसँगै मुख्य भूमिका रहेको फिल्म ‘उपहार’को यतिखेर अन्तिम चरणमा छायांकन भैरहेको छ । यसै वर्ष रेखा आमा बन्ने तयारीमा समेत छिन् । गर्भमा बच्चा हुर्किँरहँदा पनि उनले रातदिन अथक रुपमा फिल्मको छायांकन गरिरहेकी छन् । यो फिल्मलाई लिएर उनी आत्मविश्वासी र उत्साहित देखिन्छिन् । आफूले पहिला बनाएका फिल्मभन्दा यो सबैभन्दा राम्रो रहेको उनको दाबी छ ।
अभिनेत्री थापाले फिल्मीखबरसँग भनेकी छन्, ‘फिल्म एकदमै राम्रो बनेको छ । मैले बनाएकामध्ये सबैभन्दा राम्रो फिल्म नै यही हो । फिल्मले उठाएको विषयवस्तु पनि राम्रो छ । हामीले सानोमा हेर्ने नेपाली फिल्ममा समाजको कथा हुने गर्थ्यो । प्रेम, द्वन्द्व, हाँसो, रोदन सबै हुन्थ्यो । ‘उपहार’ हेर्दा त्यो महसुस हुनेछ ।’ फिल्ममा आफूले निभाएको भूमिका पनि पृथक रहेको उनले बताएकी छन् ।
‘उपहार’लाई आगामी माघ २६ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ । दशैंको पूर्णिमामा एउटा गीत रिलिज गरेर प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण टिम छ । ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुषालको पनि अभिनय छ । ज्ञानेन्द्र र रेखाबीच यसअघि ‘हिफाजत’, ‘देवर बाब’ जस्ता सुपरहिट फिल्ममा सहकार्य भैसकेको छ ।