Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आत्महत्या दुरुत्साहनको मुद्दा मुल्तबीमा

18

सप्तरी । राजविराज नगरपालिका–१६ की बिनिताकुमारी दासलाई उक्साएर आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेका मृतकका पति राजविराज नगरपालिका–१० मटिगढी टोलका २२ वर्षीय आकाशकुमार देव, उनका ५२ वर्षीय बुबा मनोज कुमार देव र ४४ वर्षीय आमा सन्ध्याकुमारी देवविरुद्धको मुद्दा ०८० मङ्सिर ११ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश संजिव पोखरेलको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

राजविराज नगरपालिका–१६ स्थित माइत विस्थापित भई पति र सासुससुराविरुद्ध नाताकायम, घरेलु हिंसालगायतको मुद्दा लडिरहेकी बिनिताले ०७९ मङ्सिर १ गते दिउँसो पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७९ मङ्सिर १ गते भएको थियो ।

मृतकका बुबा राजविराज नगरपालिका–१६ का ५४ वर्षीय शैलेन्द्रकुमार दासले ०७९ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालय दिनु भएको आत्महत्या दुरुत्साहनको उजुरी दर्ता नभए पछि दासले माघ २९ गते जिल्ला हुलाक कार्यालयमार्फत उजुरी पठाउनु भएको थियो । यसैगरी फागुन ८ गते जिल्ला सरकारी वकिल कार्यालय र फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ताका लागि निवेदन दिनु भएको थियो । जिल्ला अदालतमा ०८० जेठ १४ गते आत्महत्या दुरुत्साहनको अभियोग पत्र दायर भएपछि आरोपितहरू विरुद्ध म्यादी पुर्जीसहित वारेण्ट जारी भएको थियो ।

बिनिता र आकाश ०७५ माघ ११ गते सप्तरीको शक्तिपिठ छिन्नमस्ता मन्दिरमा प्रेमविवाह गरी काठमाडौंमा बस्ने गरेका थिए । पछि चितवनको भरतपुरमा डेरा लिई सँगै बसेका बेला ०७६ पुस १२ गते छोरी आकांक्षाको जन्म भएको थियो । शल्यक्रियाबाट छोरीको जन्म हुँदा सबै खर्च बेहोरेर उपचार र हेरचाह गर्दै आएका आकाश आमाबुबाको दवावमा भरतपुरबाट घर आएर बसेका थिए । घर बस्न थालेपछि दाइजो माग्दै पत्नीलाई कुटपिट, गालीगलौज गरी यातना दिएको बिनिताका बुबा शैलेन्द्रले बताउनु भयो ।

यातनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बिनिताले दिएको उजुरीमा प्रहरीले मिलापत्र गर्न, गराउन तथा कारवाही समेत गर्न नसके पछि बिनिताले छोरी आकांक्षाको संरक्षक भई ०७७ साउन ४ गते जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी दिनुभएको थियो । उक्त मुद्दामा अदालतले १७औं पटकको पेशीमा ०७९ चैत १ गते बिनितालाई जिताएको थियो । यस्तै जिल्ला अदालतमा ०७७ मङ्सिर ८ गते दायर नाताकायमको मुद्दामा अदालतले १६औं पटकको पेशीमा ०७९ चैत १ गते बिनिता र आकाशबीच लोग्ने स्वास्नीको नाताकायम हुने फैसला गरेको थियो ।

अदालतमा मुद्दा चलिरहेको बेला तारेख लिन आउँदा प्रत्यक्ष र माइतीघरमा बसेका बेला फोन गरेर पीडितलाई आरोपितहरूले अपशब्द बोली मानसिक यातना दिदै प्रताडित गरेकोले डिप्रेशनमा परी आत्महत्या गरेको मृतकका बुबा शैलेन्द्रले बताउनु भयो । दासका अनुसार प्रमाण भएपनि र मुद्दा जिते पनि कार्यान्वयन नहुने भनेर आरोपितहरूले दिएको धम्कीले निराश बनेकी पीडितलाई बारम्बार मानसिक यातना दिने गरेकोले पछिल्लो समय डिप्रेशनमा परी बोल्न समेत छाडेकी थिइन् । पीडितले दिएको घरेलु हिंसाको उजुरीमा जिल्ला अदालतले ०७७ साउन ८ गते अन्तरिम संरक्षणात्मक आदेश जारी गरे पनि सो आदेश कार्यान्वयन हुन सकेको थिएन ।

मृतकका बुबा शैलेन्द्रले विभिन्न मितिमा बिनिता र आकाशले खिचेको फोटो, सामाजिक सञ्जालमा राखिएको फोटो र कल रेकर्डलाई प्रमाणका रुपमा पेश गरेका छन् । शैलेन्द्रका अनुसार ०७८ मङ्सिर १३ गते नाताकायम मुद्दाको तारेख छाडे र मुद्दा फिर्ता लिए बिनितालाई पत्नी स्विकार्ने, विवाह दर्ता गर्ने र छोरीको जन्म दर्ता पनि गर्ने भनी आरोपितले फोनमा भनेका थिए । बिनिता झुण्डिएर मरेको घटनाबारे आकाशकै सानीआमाको छोरा रोहन देवले घटनाको २० मिनेटपछि फोन गरी जानकारी दिएको पनि शैलेन्द्रले जानकारी दिनुभयो ।

 

मनोहरकुमार पोखरेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर