Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आन्दोलनमा सरिक हुन आएका महिलामाथि दुर्व्यवहार

16

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ०८० मङ्सिर ७ गते काठमाडौँमा आयोजना गरेको आन्दोलनमा सहभागि हुन आएका महिलाहरूमाथि नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज बिनोद राईको नेतृत्वमा लोकन्थलीमा दुर्व्यवहार भएको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागि हुन इटहरीबाट आएका महिलाहरू लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा उनीहरूमाथि दुर्व्यवहार भएको हो ।

घटनाबारे इन्सेक प्रतिनिधिसँग कुरा गर्दै दुर्व्यवहारमा पर्नुभएकी मोरङकी प्रमिला शाहीले युवासङ्घका कार्यकर्ता नाममा मध्यरातमा आएका सात/आठ जनाको समूहले आफू सहित ३५ जनालाई मङ्सिर ५ गते पार्टी प्यालेसमा बस्न नदिएर लछारपछार गरेको बताउनु भयो । शाहीले युवाहरूको समूहले धम्की दिएपछि आफूहरू काठमाडौँको गौशालामा बसिरहेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले घटनाबारे जिल्ला प्रहरी परिसरमा सूचना आएपछि प्रहरी खटाएर महिलाहरूलाई पार्टी प्यालेसबाट निकाल्नेहरूको खोजी गरिरहेको इन्सेकलाई जानकारी दिनुभयो । डिएसपी पाठकले अनुसन्धानका लागि घटनास्थलको सिसिटिभी फुटेज झिकाइएको र सोही भिडियोलाई आधार बनाएर महिलाहरूमाथि दुर्व्यवहार गर्ने समूहको खोजी गरेर कानुनी दायरामा ल्याउने बताउनु भयो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ७ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा काठमाडौँको बल्खुमा प्रदर्शनको कार्यक्रम राखेकै दिन नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ र अनेरास्ववियुलगायत २३ ओटा जनवर्गीय र पेसागत सङ्गठनले सोही दिन भ्रष्टाचार र अराजकता विरुद्ध आन्दोलन भन्दै काठमाडौँको तीनकुनेमा प्रदर्शनको कार्यक्रम राखेको छ ।

दुवै पक्षले एकैदिन आन्दोलनका कार्यक्रम राखेपछि जिल्ला प्रसाशन कार्यालय, काठमाडौँले माइतिघर मण्डला, सिंहदरबार आसपास, नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय परिसर र बालुवाटार क्षेत्रमा मङ्सिर ४ गतेदेखि एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ भने जिल्ला प्रसाशन कार्यालय, ललितपुरले पुल्चोकस्थित युएन कार्यालय वरपर ६ महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।

 

विमल पौडेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर