Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आरती साहका पतिलाई पुर्पक्षका लागि थुनामै राख्न सर्वोच्च अदालतको आदेश

17

धनुषाकी आरती साह मृत्यु प्रकरणमा उहाँका पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको ०८० मङ्सिर २० गते बसेको संयुक्त इजलासले आरती साहका पतिलाई थुनामा पठाउने र उहाँका ससुरा मदनमोहन ब्याहुत सुडीलाई १ लाख रुपियाँ धरौटी राखेर रिहा गर्न आदेश दिएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी २३ वर्षीया आरती साह ०८० जेठ ७ गते घरमा मृत अवस्थामा आफ्नो घरमा फेला परेको थियो । साहको दाइजोको निहुँमा पतिसहित परिवारका सदस्यले कुटपिट गरेर हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

उनीहरू विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले ०८० असार १ गते जिल्ला अदालत, धनुषामा कर्तब्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा थुनछेक बहसपछि असार ५ गते जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तर आरोपितहरूले जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत, जनकपुरधाममा दायर गरेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको ०८० असोज १८ गतेको संयुक्त इजलासले प्रमाण नपुगेको भन्दै आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको उक्त आदेश विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो । उक्त पुनरावेदन निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आरतीका पति मोतीबाबु साहलाई पुन: पुर्पक्षका लागि थुनामा पठाउन र ससुरा मदनमोहन ब्याहुत सुडीलाई १ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘आरतीका पतिले अनुसन्धान अधिकारी समक्ष मृतकसँग पहिल्यैदेखि झगडा हुने गरेको र घटना भएको दिन चार/पाँच थप्पड हानेको भन्ने बयान दिएको, प्रतिवादीको उक्त बयान लास जाँच मुचुल्का हुँदा बायाँ आँखी भौँको तल गलामा कालो रातो दाम देखिएको र बायाँ कानको छेउमा रातो दाम देखिएको बाट कुटपिट पुष्टि हुने देखिएको, मौकामा कागज गर्ने प्रदिप कुमार साह, शङ्कर कुमार साह र दिलिप कुमार यादवले मृतकलाई प्रतिवादी मोतीबाबु साहले मृतकलाई कर्तब्य गरी मारेकोमा विश्वास लाग्छ भनि दिएको बयान, र शव परीक्षण प्रतिवेदनमा Suicidal in Nature भनि उल्लेख भएको विषयलाई नेपाल सरकार मेडिकल काउन्सिलबाट छानबिन हुँदा त्यस्तो उल्लेखन त्रुटीपूर्ण भएको पत्र लगायत प्रमाणहरूको रोहमा विचार गर्दा मृतकको मृत्यु मोतीबाबु साहको कर्तब्यबाट भएको रहेछ भनि विश्वास गर्नु पर्ने अवस्था देखिँदा निजलाई मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत, जनकपुरबाट ०८० असोज १८ मा भएको आदेश बेरितको देखिँदा बदर गरिएको छ ।’

यसअघि दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका र साउन २९ गते सिंहदरबार दक्षिण गेट पुगेका ४७ वर्षीय विनोदप्रसाद साहसहित २२ जनालाई प्रहरीले साउन २९ गते सिंहदरबारको दक्षिण गेटबाटै गिरफ्तार गरेको थियो ।

त्यसैगरी घटनाको निष्पक्ष छानबिन माग गर्दै रिले अनशन बसिरहेका आरतीका बुबा विनोदप्रसाद, काका, दाजु, भाइ र मामा लगायतले आफ्ना लागि न्याय मरिसकेको र सरकार नभएको आभास भएकाले कपाल मुण्डन गरेको समाचार ०८० भदौ २२ गते इन्सेक अनलाइनमा प्रकाशन भएको थियो ।

आरती र मोतीबाबुबीच ०७७ असार २९ गते विवाह भएको थियो । विवाहमा दाइजो नदिएकै कारण आफ्नी छोरी आरतीको हत्या भएको बताउँदै आरतीका बुबा, आमा, भाइ, बहिनीहरू धनुषाबाट काठमाडौँ आएर घटनामा निष्पक्ष छानबिन गर्नु पर्ने माग गर्दै १ सय ७५ दिनदेखि रिले अनशनमा बसिरहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर