Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु, परिवारको बिचल्ली

17

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको बिचल्ली भएको छ ।

क्यान्सर रोग पीडित उदे रावत घरको सिडीबाट ०८९ भदौमा लडेर घाइते भएपछि अछाम जिल्लास्थित बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो । क्यान्सरबाट ग्रसित उदेको बयालपाटा अस्पतालमा उपचार असम्भब भएको र सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरिएको थियो ।

आर्थिक अभावका कराण उपचार गर्न सम्भव नभएपछि विभिन्न निकायसँग उपचारका लागि सहयोग गरिदिन अनुरोध गरेको भए पनि सुनुवाई नगरिदिएपछि पतिलाई घर फिर्ता ल्याउन बाध्य भएको र  घर ल्याएको केही दिनपछि उपचारको अभावमा पतिको मृत्यु भएको पीडितकी पत्नी नरा रावतले दुखेसो पोख्नु भयो ।

पीडित नराका पतिको मृत्युपश्चात पाँच जना छोराछोरी सहित सम्पूर्ण परिवार बिचल्लीमा परेका स्थानीय टेकबहादुर बुढाले बताउनु भयो ।  घरको अन्य आयस्रोत केही छैन् । खेतीयोग्य जग्गा जमीन पछि छैन् । भएको जमिनमा राम्रो उब्जनी पनि हुदैन् । कृर्षी उत्पादनले तीन महिना पनि खान नपुग्ने पीडित नरा रावतले बताउनु भयो ।

पतिको सामाजिक सुरक्षा भत्ताले जेनतेन विहानबेलुकीको छाँक टार्दै आउनु भएका नरा रावतको परिवारमा पतिको मृत्युपश्चात सामाजिक सुरक्षा भत्ता पनि रोकिएछि विहानबेलुकीको छाँक टार्न समेत समस्या भएको स्थानीय टेकबहादुर बुढाले बताउनु भयो । छिमेकीहरुले सहयोग गरेको दिन मात्रै नराको घरमा चुलो बल्ने गरेको र अन्य दिन विहानबेलुकीको छाँक टार्न समस्या हने गरेको बुढाको भनाइ छ ।

आर्थिक अभावकै कारण २ छोरी बसन्ती र सौरा रावतले सानै उमेरमा विवाह गरिसकेका छन् भने १५ वर्षीया छोरी रजना रावत पाँच कक्षा पढेर स्कुल छोडी सकेकी छन् । अर्की १२ वर्षीया  कल्पना तीन कक्षामा अध्ययनरत छन् । त्यस्तै १० वर्षीय छोरा खेमराज एक कक्षामा पढ्छ्न् ।

स्कुल भर्ना त भएका छन् तर नियमति स्कुल जादैनन् । उनीसँग न कापी न कलम हुन्छ । कापीकलम र विद्यालय पोषाक समेत नभएका कारण आफूहरुलाई विद्यालय जान नसकेको पीडितकी १२ वर्षीया छोरी रावतले दुखेसो पोख्नु भयो । अन्य साथीहरु कापीकलमसँगै राम्रो विद्यालय पोषाक लगाएर आउने गरेका र आफूसँग केही नभएका कारण विद्यालय जान मन नलाग्ने कल्पनाको भनाइ छ ।

पतिको बृद्धाभत्ताले घरखर्च चल्दै आएको भए पनि पतिको मृत्युपछि छोराछोरीको पठनपाठन र विहानबेलुकाको छाँक टार्न समस्या भएको नरा रावतले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हाम्रो सहारा भनेको सरकार मात्र थियो । तर, सरकारबाट पनि कुनै सहयोग नपाएपछि सहारा बिहिन भएका छौँ ।  गत असोजमा गएको भूकम्पले घर चिराचिरा बनायो । सबैले राहत पाए पनि मैले राहतका नाममा एउटा त्रिपाल समेत पाउन सकेको छैन् । चुनवाका समयमा सबै समस्या समाधान गछौँ भन्ने नेताहरुले म घरबार विहिन हुँदा समेत सहयोग गरेका छैनन् ।’

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विर्ख रावलले नरा रावतको परिवार समस्यमा भएकोले आफूले व्यक्तिगत  रुपमा केही सहयोग गरेको बताउनु भयो ।

भूकम्पका कारण नरा रावतको घर चर्केको भए पनि सरकारले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई पहिलो प्राथामिकतामा राखेर राहात वितरण गर्ने निर्णय भएकोले नरा रावतको नाम पछाडी परेको वडाध्यक्ष रावलको भनाइ छ ।

पतिको मृत्युपश्चात थप समस्यामा परेको नरा रावतको परिवारलाई सहयोग गर्न आफूले गाउँपालिकासँग पहल पनि गरिरहेको वडाध्यक्ष रावलले बताउनु भयो ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको भए पनि जिल्लामा आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित नागरिकहरुले ज्यान समेत गुमाउनु परेको छ ।

 

पदमबहादुर सिंह/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर