गुल्मी, भदौ १२ । गुल्मी अस्पतालमा उपचारका क्रममा नाबालिकाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । गुल्मी जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिका बस्ने राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएको थियो । मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् ।
सोमबार १०ः०० बजेको समयमा राजेश मरासिनीकी छोरी प्रशंसा मरासिनी पेट दुख्ने, वोमिट हुने लक्षण सहित बिरामी भई जिल्ला अस्पताल तम्घास ल्याई उपचार गरिएको थियोे । सोही दिन साँझ ५ः०० बजे भर्ना भई उपचार गरिएकोमा मंगलबार बिहान ६ः३० बजे ईन्जेक्सन लगाएकोमा बिरामी झन् सिरियस भई डाक्टरले चेकजाँच गर्ने क्रममा ८ः०० बजे उपचारको क्रममा मृत घोषणा गरेका थिए । मृतकका बाबु, आफन्तीहरुले डाक्टरको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् । घटनाका विषयमा रेसुंगा नगरपालिकाका नगरप्रमुख सहित परिवारजन लगायत पत्रकारहरूको सहभागितामा अहिले छलफल भइरहेको छ । लापरबाही गर्नेलाई कडा कार्वाहीको परिवारजनले माग गरेका छन् । धरपकड समेत भएतापनि केही घटना भने भएको छैन् ।
घटनाको छानबिन गर्न गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी अस्पतालले छानबिनलाई सघाउने र सबै सेवा पुनः सुचारु गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ । अस्पतालले यस अघिको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ । मृतकको शव पोष्टमार्टम गरेर अन्त्येष्टि गरिनेछ । छानबिन हुनेभए पछि घटना साम्य बनेको छ ।