Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग

15

अछाम । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेको पाइएको हो ।

विद्यार्थीहरूले ‘केपी बा हाई–हाई’ भन्दै गरेको नाराबाजीको भिडिओ फेसबुकमार्फत सार्वजनिक भएको छ । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्याथी सहभागी गराइएको र कुनै पनि दलको पृष्ठपोषण हुने गरी नाराबाजी गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष रमेश रावतले बताउनु भयो । पञ्चकन्याका नाममा बालबालिकाहरुको प्रयोग गरिनु पनि गलत भएको उहाँको भनाइ छ ।

विद्यामन्दिर नमूना माविका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेको जुलुसमा विद्यार्थीहरु सहभागी नभएको तर सडकको डिलमा उभिएर हेरेको बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यालयमा स्वागत गर्ने कार्यक्रमलाई केही विद्यार्थीले मन पराएर नारा लगाएको भए पनि विद्यालयले बालबालिकालाई प्रयोग गरेर नाराबाजी गर्न नलगाएको उहाँको भनाइ छ । तर, सार्वजनिक भिडियोमा सो विद्यालयका बालबालिकाले जोडतोडले नारा लगाएको स्पष्ट देखिन्छ ।

देशको पूर्वप्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओली स्कुलको बाटो भएर आउने भएपछि विद्यालयका शिक्षक, कर्मचारी मिलेर स्वागत गर्ने, माला लगाउने र हार्दिकता बाँड्ने कार्यक्रम रहेको र कक्षामा रहनु भएका शिक्षक, कर्मचारी सबै सडकमा आएपछि विद्याथी निस्किएर स्वःस्फूर्त नाराबाजी गरेको प्रधानध्यापक नेपालीले बताउनु भयो  ।

नेकपा एमालेका जिल्ला कमिटि सचिव भीम रावलले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा बालबालिकाको प्रयोग नभएको बताउनु भयो । उहाँले पार्टी अध्यक्ष विद्यालयको बाटो भएर जाने क्रममा केही बालबालिकाले नारा लगाएको उहाँले बताउनु भयो । नेकपा एमाले पार्टीको जनलहर देखेर केही व्यक्ति आत्तिएर अतिरञ्जित गर्ने काम भएको उहाँको भनाइ छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद–३ दफा २१ मा दलले गर्न नहुने काम अन्तर्गत राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७, ८ र ६६ विरुद्दको यस्तो कार्य गर्नेलाई तीन वर्ष सम्म कैद र ७५ हजार जरिबाना हुन्छ । भिडियो खिचेर प्रचार गर्नु पनि कानुन विपरितको कार्य हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर