Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

19

बुटवल, भदौ २० । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधबार बिहान ५ बजे सम्पन्न मतगणनामा उनले प्यूठानका प्रत्याशी हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् ।

कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै रिजालले ४ सय ७७ मत ल्याएका छन् । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्यै ९ सय ६५ जनाले मतदान गरेका थिए ।

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएकी छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानलका हुन् ।

उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६,  रुकुमका शान्तकुमार वलीले ५६, बाँकेका पुजन विश्वकर्माले ९८मत ल्याएका थिए । बराल रिजाल प्यानलका हुन् । अन्य दुई जनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए । चौधरी कँडेल प्यानलबाट प्रत्याशी थिए । महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी बनेकी छन् ।

लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बिसिलाई २०७ मतका अन्तरले पराजित गरेका हुन् । लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भएका थिए । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्लामा भूगोलबाट प्रतिनिधित्व गर्ने पद र खुल्ला पदहरुमा पनि प्रतिस्पर्धा भएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर