Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एसियाड – रेखाको गोलमा नेपाल हारबाट जोगियो

17

हाङ्गचौं – रेखा पौडेलको गोलमा नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो अन्तिम खेलमा हारबाट जोगिएको छ । हाङ्गचौमा जारी १९ औं एसियाडमा बिहीबार नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । । चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

रेखाले ८३ औं मिनेटमा बराबरी गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् । सावित्रा भण्डारीले दिएको पासमा रेखाले हेड गोल गर्दै खेललाई बराबरीमा गरेकी थिइन् ।

खेलमा अग्रता भने बंगलादेशले लिएको थियो । ४४ औं मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि भने बंगलादेशले कुनैपनि गोल गर्न सकेन ।

दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लडाई मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो ।

बंगलादेशको पनि एसियाड यात्रा सुखद हुन सकेन । पहिलो खेलमा जापानसँग ८–० हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल ६–१ ले गुमाएको थियो ।

योसहित पछिल्ला ४ खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । गत वर्ष दशरथ रंगशालामा साफ च्याम्प्यिनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाली टोलीले त्यसपछिका दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर