Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कविताः तनरुपी दोकान

20

राजु विके

दोकान तनरुपी सजियो
तामझाम कति मच्चियो
हाँस्दै दोकानदार खटियो
स्वार्थ बेच्नलाई कसियो

आउँदै छ पसल बन्द हुने बेला
चल्दैन खरिद बिक्रिको मेला
एकै झटकामा छुट्छ झमेला
खुल्दैन फेरि पसलको परेला
लोभैलोभले तल खसियो
पापको संसारमा फसियो
दोकान तनरुपी सजियो
तामझाम कति मच्चियो

च्याट्ट छोडेर हिड्छ पाहुना घरको
दुर्गन्ध सामु काम छैन अत्तरको
टुट्दछ घमण्ड जात र थरको
कीमत कसैले दिन्न खण्डहरको
केही दिनको नाटक थियो
बेला आयो प्राण खोसियो
दोकान तनरुपी सजियो
तामझाम कति मच्चियो

छँदासम्म बल अपमान नै सहेन
छल कपट झुट केही बाँकी रहेन
मिथ्या शान देखाउन पछि परेन
दोषी देख्यो कसैलाई माफ गरेन
आवाजै छैन कहाँ धसियो
तातो शरीर आज चिसियो
दोकान तनरुपी सजियो
तामझाम कति मच्चियो

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर