Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कविता: आकाश र म

16

– गीताश्री शर्मा
गान्तोक सिक्किम

तिमी माथिबाट धर्ती रोएको हेरिरहन्छौ
लुटिएको, कुटेको र धुजा धुजा पारेर
च्यातिएको मन हेर्छौ
म यहाँबाट चुपचाप बसेर
छोरी रोएको हेर्छु
लुटेको, कुटेको र च्यातिँदाको चित्कार सुन्छु ।
तिमी बादलसँग अँगालो हालेर रुन्छौ
हिक्हिकाउँछौ सायद
ऊसँगै मिसिएर कहिलेकाहीँ रोइरहन्छौ
म यहाँ पापीहरुको अत्याचारमा पिसिएर रुन्छु ।

अनि
तिमी बर्सिन्छौ
पखाल्छौ धुलो र धराका दागहरू
म पनि बिर्सिन्छु
पखाल्छु मनको वेदनाका खातहरू
तिम्रा पीरका ढिका असिना बनी
तिमी यस धर्तीमा बर्सिरहँदा
म भने, दमन शोषण र अत्याचारको चोटले तर्सिन्छु ।

आकाश …..!
सुन न….

उस्तै उस्तै छ बर्साई तिम्रो र मेरो
उस्तै उस्तै छ तर्साइ तिम्रो र मेरो
तिमी प्रकृति हौ सहन्छौ, सहिरहन्छौ
धरतीमा मानवको अत्याचार ।
म आमा हुँ, धरती हुँ यसैले
सहिरहेछु मानवले गरेको बर्वरता, हत्या र बलात्कार
फरक यति छ तिमी र ममा,

तिमी निर्जीव भएर सहिरहेछौ
अनि म….
म सजीव मानव भएर मौन छु
दानवहरूले मेरो छातीमा प्रहार गरेको सहिरहेछु
फरक अझ सोध्छौ नै भने
तिमी अन्तरिक्षको परिवेशमा छौ
म भने कानून मरेको देशमा छु ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर