– गीताश्री शर्मा (गान्तोक, सिक्किम)
सडक !
के छ फरक
तिमी र ममा ?
दिनहौं कुद्छन्
तिम्रा छातीमा
हजारौँ सपना बोकेका यात्रीहरू
अनि
ती यात्रीलाई चाहिने
खाद्य सामग्री,
गगन चुम्बी भवन बनाउने
सामान र
ती महलमा बस्नेहरूका
मायालु प्रेमी–प्रेमिका
बोकेर गुड्ने
चिल्ला भाटकयान अनि
विशाल मालवाहक
घोडा, गाडी र रेलहरू
अनि
बिर्सिन्छन् आफूले टेकेको धरातल
सोच्छन् तुच्छ अरूलाई ।
यी देखेर
कुद्छन् मेरा छातीमा
दायित्व, जिम्मेवारी र कर्तव्य ।
तिमी पनि मौन सहन्छौ
म पनि चुपचाप सहिरहन्छु
आफ्नो धर्म, कर्म र अस्तित्व सम्झेर
लडिरहन्छ लम्पसार हाम्रा आफ्ना सपनाहरू
अनि उनीहरू भने
तिम्रो र मेरो मौनतालाई
कमजोरी सम्झेर
हाम्रा छातीमा
नाचिरहन्छन्, रमाइरहन्छन् ।
सडक ;
माटो–आमा !
आमा ;
माता, जननी र चेलीहरू !
थाहा छ
यी इज्जत र अस्मिताका लुटेराहरूलाई पनि
तर पनि हाम्रो वक्षमा
निर्मम टेक्दै कुद्छन्, दौडन्छन्
संसार बनाउने होडमा
तिमी जस्तै मौन छु, म पनि
फरक यति त छ, तिमी र ममा
तिमी निर्धक्क, निर्जीव सहन्छौ
खुल्ला आकाशको ओड्ने ओडेर,
अनि म,
चेतनशील, जीवित र सिर्जनशील भएर पनि
खोक्रो समाजको अघि
मौन सहिरहन्छु ।
फरक यति त अवश्यै छ,
तिमी –
सडक भएर आमा भएकी छौ
म –
आमा भएर
सडक भएकी छु ,
तिमी निर्जीव दुखेकी छौ
म सजीव दुखेकी छु,
अनि हामी दुखिरहन्छौँ
शायद अनन्त सम्म !!