Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

30

काठमाडौं – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ ।

मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको इनिङ धराशायी बनाएपछि टस जितेर पहिलो ब्याटिङ रोजेको बागमती सामान्य योगफलमा सिमित भएको थियो । शीर्षक्रमका सुरुवाती ३ विकेट सरस्वती कुमारी चौधरीले लिएकी थिइन् ।

दोस्रो ओभरमा हेलिशा गुरुङ र सोनी पाख्रिनको विकेट लिएकी उनले चौथो ओभरमा यशोदा विष्टलाई आउट गरिन् । बाग्मतीका लागि कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित २० रन जोडिन् । बागमतीको इनिङमा अश्मिनाले मात्र चौका प्रहार गरिन् । कन्चन श्रेष्ठले ११ रन जोडिन् ।

कृतिकाले १२ औं ओभरको चौथो बलमा खुसी डंगोल, पाँचौ बलमा विपिशा शाही र अन्तिम बलमा मनिषा उपाध्यायको विकेट लिइन् । १४ औं ओभरको पहिलो बलमा अश्मिनालाई बोल्ड गर्दै कृतिकाले ४ बलमा ४ विकेट लिइन् ।

जवाफमा मेयर्स-११ ले १४ औं ओभरमा लक्ष्य पूरा गर्यो । कप्तान पुजा महतोले ३० बलमा ३ चौकासहित नटआउट २३ रन जोडिन् । लक्ष्मी चौधरीले ७ बलमा ३ चौकासहित १२ रन बनाएकी थिइन् । दुई रनआउट हुँदा एकमात्र विकेट खुसी डंगोलले लिइन् ।

प्रतियोगितामा ५ टोलीले सिंगल राउण्ड रोबिनमा खेल्नेछन् । शीर्ष २ टोलीले अर्को शनिबार हुने फाइनलमा खेल्नेछन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर