Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

के तपाईलाई थाहा छ पृथ्वीलोकमा आउने प्रथम महिला को थिइन् ?

17

मानिस कसरी जन्मिन्छ सबैलाई थाहा छ । कहिलेकाहीँ मनुष्यको दिमागमा यस्ता पनि प्रश्नले घर बनाउँछन् जसको जवाफ सम्भवतः कसैसँग छैन । यद्यपि प्रविधि र विज्ञानले विश्वको स्वरुप नै परिवर्तन गरेको छ, सिद्धान्त र दृष्टिकोणमा एक किसिमको क्रान्ति नै भएको छ तर विज्ञान एवं प्रविधिसँग त्यो आँखा र त्यस्तो खुट्टा नै छैन जसले सम्पूर्ण रहस्यलाई देखोस् र सबै जिज्ञासाको उत्तरसम्म पुग्न सहयोग गरोस् । त्यस्तै यौटा प्रश्न यो छ कि पृथ्वी लोकमा पहिलो महिला को थिइन् ? यस प्रश्नको उत्तर फरक स्रोतले फरक किसिमबाट देला तर सनातन धर्म अनुसार यस सृष्टिका रचियता भगवान ब्रह्माजीलाई मानिन्छ ।

मत्स्य पुराण अनुसार सृष्टि क्रमलाई अघि बढाउनका लागि बह्माजीले स्वयंलाई दुई भागमा बाँडेका थिए । ब्रह्माजीको शरीरबाट ‘काया’ निस्किएको थियो । यही कायाको पहिलो अक्षर ‘का’ पहिलो भाग र दोस्रो अक्षर ‘या’ दोस्रो भाग भयो ।
त्यसपछि ब्रह्माजीले दिव्य शक्तिको प्रयोगबाट पहिलो भागमा पुरुष र दोस्रो भागमा स्त्रीलाई प्रकट गरे । पहिलो भागलाई मनु भनियो भने दोस्रो भाग शतरुपा थिइन् ।

शतरुपा थिइन् पहिलो महिला
यस सृष्टि दर्शनले शतरुपालाई यस संसारकै पहिलो महिला थिइन् भन्ने मान्यता प्रदान गर्दछ भने मनुलाई पहिलो पुरुष मानिएको छ । मनु र शतरुपाबीचको सम्बन्धले नै मानव जातिको उत्पत्ति भएको थियो । मनुकै सन्तान भएकाले मानिसलाई मानव भनिएको हो । वास्तवमा यस दुनियाँमा आउने पहिलो स्त्री शतरुपा थिइन् भने प्रथम पुरुष मनु थिए, त्यसैले मान्छेको नाम मानव अथवा मनुष्य नाम निर्धारण भएको हो ।

सृष्टिको विस्तार
मनु र शतरुपाका जम्मा पाँच सन्तान जन्मेका थिए जसमा दुई पुत्र र तीन पुत्री थिए । पुत्रहरुमा एक पुत्रको नाम प्रियव्रत थियो भने अर्का पुत्र उत्तानपाद थिए जबकि उनका पुत्रीहरुको नाम आकूति, देवहृति र प्रसूति थियो ।

यही कारण हो कि सात महाद्वीपका जुन सुकै देशमा नागरिकको रुपमा जन्मिने सबैले मानव वा मनुष्य हुने मान्यता पाए । उनीहरुको उत्पत्ति, आवश्यकता, मृत्यु, शारीरिक संरचना सबैमा समानता छ । त्यसरी हेर्ने हो भने यौटै जन्मदाता भएपछि शतरुपा र मनु हुनुपर्ने दाजु बहिनी, पति पत्नी कसरी भए ? यो प्रश्नको उत्तर नै जटिल हुन सक्छ ।

उता विष्णु पुराण अनुसार ब्रह्माका नौ मानसपुत्र बताइएको छ— भृगु, पुलस्त्य, पुलह, कृतु, अंगिरस, मरीचि, दक्ष, अत्रि अनि वशिष्ठ । यी ऋषिहरुलाई ब्रह्म ऋषि भनिन्छ । ब्रह्माले सर्वप्रथम सनक, सनन्दन, सनातन र सनत्कुमार चार पुत्रहरुको रचना गरेका थिए तर उनीहरुको सृष्टि रचनाको कार्यमा कुनै रुचि थिएन । चारै जनाले ब्रह्मचर्यको पालन गर्दै ब्रह्मतत्वलाई जान्न लीन रहन्थे । उनीहरुको व्यवहार देखेर ब्रह्माजी रिसाए । उनको क्रोधबाट प्रचण्ड ज्योति निस्कियो । मस्तकबाट उत्सर्जित अग्नी उर्जाले अर्धनारीश्वर रुद्रको उत्पत्ति भयो । ब्रह्माले त्यो अर्धनारीश्वर रुद्रलाई नै पुरुष र स्त्रीमा विभक्त गरे । पुरुषको नाम का र स्त्रीको नाम या राखे । उनीहरु नै स्वयंभवु मनु र शतरुपा थिए जसबाट पाँच सन्तान जन्मिए । आकूतिको विवाह रुचिसँग र प्रसूतिको विवाह दक्षसँग भयो । दक्षले प्रसूतिबाट २४ कन्या जन्माए जस मध्ये १३ कन्याहरु (श्रद्धा, लक्ष्मी, पुष्टि, धुति, तुष्टि, मेधा, क्रिया, बुद्धि, लज्जा, वपु, शान्ति, ऋद्धि र कीर्ति) को विवाह धर्मसँग भयो । त्यसपछि भृगुको ख्यातिसँग, शिवसँग सतीको, मरीचिसँग सम्भूतिको, अंगिरासँग स्मृतिको, पुलस्त्यसँग प्रीतिको, पुलहसँग क्षमाको, कृतिसँग सन्नतिको, अत्रिसँग अनसूयाको, वशिष्टसँग ऊर्जाको, वह्वसँग स्वाहको तथा पितृहरुसँग स्वधाको विवाह भयो । यसपछि आउने सृष्टि यिनैबाट विकसित भएको हो ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर