Sat2024 July 27
२०८१ साउन १२, शनिबार

के हर्क साम्पाङ्गको राजनीतिक करियर ओरालो लागेकै हो ?

25

लोकनाथ शर्मा लुइटेल, भदौ ११ । धरान उप–माहानगरपालिकामा स्वतन्त्र उमेदबारबाट मेयरमा निर्वाचित हर्क साम्पाङ्गले केही समय जनताको भलाइका थुप्रै काम गरे । पिउने पानी अभावको समस्या झेलिरहेको धरानलाई आफै कुटो कोदालो सहित श्रमदान संस्कृति बसाल्दै लामो दूरीबाट पानी ल्याए, चुनावी घोषणा पत्रमा धराने जनतालाई पानी खुवाउँछु भनेर जाहेर गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखे, प्रतिबद्धता पूरा पनि गरे अनि सजिलै धराने जनताको मन जित्न सफल भए । मेयर बनी सकेपछि पनि आफ्नो दैनिकी साधारण मजदुरको जस्तै कायम राख्न उनलाई मन पर्याे । खोलाको बगरमा एक्लै ढुङ्गा पनि फोडे, एक्लै कोदालो चलाए । वृक्षारोपण गरे । मेयर जस्तो गरिमामय पदमा रहेर पनि उनले वातावरणको संरक्षण र देशको समृद्धि बारेमा सोच्न र नागरिकको

हैसियतमा रहेर समाजलाई योगदना दिने कामको निरन्तरतालाई अगाडि बढाइ रहे । मानीलिउँ उनको शरीरमा रगत होइन, देशको समृद्धि र प्रकृतिको संरक्षणका लागि शक्तिशाली बिजुली दोडीरहेको छ । मेयर पदमा जीत हासिल गरेका यस अघिसम्मका राजनीतिक दलका पार्टी मेम्बरको इतिहास हेर्ने हो भने उनीहरु नीतिगत भ्रष्टाचार गर्न, बैठक र उद्घाटन समारोहको प्रमुख अतिथि बन्न र सुरक्षा घेराका बीच एसी जडित सुविधायुक्त अफिसमा बसी कागजातहरुमा दस्तखत गर्न, ठूलाठूला उद्योगी, व्यवसायीहरुसँग छलफल गर्न र भ्रमण गर्न मात्रै दैनिकी निर्धारित भएको पाइन्छ । सापाङ्ग भने पृथक शैलीका मेयरका रुपमा छिटै चर्चित भए ।

श्रमदान गर्न आफू अग्रपंक्तिमा रहेर उनले श्रमदानको आह्वान धरानवासीहरुबाट पनि गरे । श्रमदान गर्ने जनसाङ्गलो साम्पाङ्गकै पछि पछि लाग्यो । खरो बोली र केही गर्नु पर्छ भन्ने हुटहुटि भएका हर्क छोटो समयमा नै बहुचर्चित बन्न सफल भए । जनताका गुनासा समस्या प्रति ध्यान दिए । कर्मचारी तन्त्र सुधार गरे । घुस खानेलाई र काममा ढिला सुस्ति गर्नेलाई ठाउँको ठाउँ कारबाही गरे । आफ्नो काम गर्ने शैली र जनतको भावनालाई बुझेर काम गरेकाले देशैभर मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत उनले वाहवाही पाए ।

उनले स्वतन्त्र उम्मेदवारीमा चुनाव चिन्ह लौरो लिएर स्थानीय चुनाव लडे अनि कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किशोर राइलाई ४,७७० मतले हराए । धरानको मेयर पदका लागि २०७६ सालको उपनिर्वाचनमा राईले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला ४२२ मत मात्रै ल्याएका साम्पाङ्गले २०७९ वैशाख ३० गतेको स्थानीय चुनावमा २०,८२१ मत ल्याइ विजयी भए । २०७९ जेठ ९, सोमवारदेखि हालसम्म उनी धरान उप–महानगरपालिकाको मेयरको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।

बिगत केही दिनदेखि उनै मेयर हर्क राई अराजक, अभद्र र अभिमानी बन्दै गएको सामाजिक सञ्जालहरुमा प्रतिक्रियाहरु अभिव्यक्त भएको देख्न सकिन्छ । समाजिक संजालमा चाहिने नचाहिने स्टाटस हाल्नेदेखि लिएर अरुलाई घोचपेचका शब्दहरुको ओइरो आइरहेको देखिन्छ । नगर प्रमुख हर्क एक पूर्ण कार्यकारी प्रमुख हुन् । उनी कोदालो बोकेर जंगल–जंगल हिड्ने होइन । कार्यकारी प्रमुखको काम अरुलाई अराउने र निरिक्षण गर्ने हो, अनुगमन गर्ने हो, कामको लेखाजोखा गर्ने हो । ढुङ्गा आफ्नै बल, मजबुती र वजनको कारणले पानीमा डुब्छ भने झै मानिस पनि जब आफ्नो बल, बुद्दि, धन, यौवन, रुपरंङको घमण्ड गर्छ उसको अधोगति सुरु हुन्छ । मेयर हर्क पछिल्लो समयमा विभिन्न सामाजिक संजाल, इन्टरभिउ बातचित भेटघाटमा अलिक छाडा घमण्डी र अराजक बन्दै गएको गुनासाहरु आउन थालेका छन् । ’कानुनलाई जाबो नाथे कानून मान्दिन भन्नु, पुलिस प्रशासनलाई नाथे भन्नु, सर्बसाधारणको घर भत्काइदिन्छु भन्नु, प्राइभेट जग्गामा वृक्षारोपण गर्न जानु, म जस्तो म्याचुर नेता कोही छैन भन्दै आफ्नो बयान आफै गर्नु, मभन्दा जान्ने बुज्ने नेता कोही छैन भन्नु, थुक्क थुक्क भन्दै सामाजिक सञ्जालमा लाइव आइ गाउनु, मान्छेलाई मान्छे नगन्नु जस्ता अराजकीय अभिव्यक्तिका कारण उनलाई बौलाहाको संज्ञा दिन थालिएको छ ।

गाइगोरु काटेर, मन्दिरको अगाडि चर्च बनाएर धार्मिक सहिष्णुतामाथि आक्रमण गर्न खोजेको, पश्चिमेली संस्कृतिको आडमा हिन्दू धर्मलाई मेटाउने अभियानमै रहेको भन्ने साम्पाङ्गमाथि अर्काे आरोप पनि छ । मेयर साम्पाङ्गका  कार्यहरुले आरोपहरुको खण्डन पनि गरिरहेका छन् । मेयरको दायित्व अन्तर्गत गरिएका जनहितका कार्यहरुबाट अतालिएर विरोधीहरुले बदनाम गर्नका लागि धरानमा विवादास्पद कार्यहरु गर्न पछि नपरेको कतिपय विश्लेषकहरु बताउँछन् ।

 

यता चर्च बनाएको र गोरु काटेर खाएको भन्दै त्यसलाई हिन्दू अतिवादीहरुले राष्ट्रिय समस्याको रुप दिन सडकमा ओर्लिएर विवादलाई चर्काउन खोजीरहेका छन् । पछिल्लो समय धार्मिक तथा सामाजिक विवादका कारण तनाव बढेको भन्दै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले संयम र संवेदनशीलता अपनाउन धरानका बासिन्दालाई हार्दिक अपिल गरेका छन् ।

गत शनिवार (भदौ ९ गते) पनि गावो विश्वस्य मातरः (गाइ विश्वकै माता हुन्) र मरे बलिदान बाँचे स्वाभिमान, गौ संरक्षण हाम्रो अभियानको नारा सहित गोवंश तथा स्वधर्म संरक्षणका लागि शान्तिपूर्ण सदभाव र्याली शीर्षकसहितको ब्यानर, ऊँ लेखिएको झण्डा, राधे राधे लेखिएको टि–शर्ट पहिरिएका भक्तजनहरुले क्रिस्चियन मिशिनरी होशियार, धर्मछाडा मुर्दाबाद, राष्ट्रिय जनावरको रक्षा गर, गोहत्या बन्द गर, नालायक सरकार मुर्दाबाद, डलरे खेती बन्द गर, दलाल सरकार राजीनामा दे, क्रिस्चियन प्रचण्ड राजीनामा दे, गृहमन्त्री मुर्दाबाद, इसाई हर्के मुर्दाबाद, चर्च हामी तोड्छौं लगायतका नारा लगाउँदै धरानको सडक तताएका छन् ।

मेयर राईले यस चुनौतीपूर्ण समयमा सन्तुलित र विचारशील दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै जारी विवादका कारण क्षेत्रको संवेदनशीलता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

“वर्तमान परिवेशले हामी सबैलाई संयमता अपनाउनुपर्छ र प्रत्येक पार्टी, समुदाय र नागरिकको भावनाप्रति संवेदनशीलता देखाउन आवश्यक छ। म धरानका सबै नागरिकलाई आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राख्न हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।
मेयर राईले विविधतालाई सकारात्मक शक्तिमा परिणत गर्ने महत्त्व औँल्याउदै यी भिन्नता वरपरका नकारात्मकतालाई रचनात्मक संवादमा परिणत गर्न समुदायलाई आग्रह गरे ।

उनले समाजका विभिन्न पक्षमा अशान्ति र विभाजनलाई बढाएर द्वन्द्व, विरोध र शत्रुता निम्त्याउन नदिने चेतावनी पनि दिएका छन् ।

२००७ साल पछिको समय यता प्रत्यक्ष र नीतिगत भ्रष्टाचार गरेर देशै डुबाउने नेपालको राजनीतिले जनताको मनमा आफ्नो पकड गुमाइरहको अवस्थामा स्वतन्त्र उम्मेदवारहरुले चुनाउ जित्दै राम्रा कामहरु गर्न थालेपछि उनीहरुलाई कुनै न कुनै बहानामा असफल साबित गर्नका लागि विभिन्न आरोप लगाउँदै अशान्ति फैलाउन अराजक तह र तप्काहरु सक्रिय देखिएका बेला बोली, वचन र कर्मले चुक्दै जाने हो भने त्यसले स्वतन्त्र उम्मेदवारीबाट देश र जनतालाई कुनै लाभ नहुने नजिर स्थापित गर्न सक्छ । त्यसैले धरानका मेयर हर्क साम्पाङ्ग लगायतका सबै स्वतन्त्र विजेताहरुले सावधानी अपनाउन आवश्यक छ ।

मेयर साम्पाङ्गले राष्ट्र विरोधी र विकास विरोधीहरुलाई कानूनकै दायरामा ल्याएर कार्वाही गर्नुपर्छ । उनले सामाजिक सञ्जालमा लाइव आएर तथानाम शब्दहरु प्रयोग गर्नु हुँदैन । आफूलाई नेपाली मान्नेहरुले नेपालको कानूनको पालना पनि गर्न सिक्नुपर्छ । गाईलाई राष्ट्रिय जनावर मानिएको छ । मानव सभ्यताको संरक्षण र थप उन्नतिका लागि गाईको महत्व अखण्डनीय छ । क्रिस्चियनहरु पनि मानव नै हुन् । उनीहरुको पनि धार्मिक आस्था छ । नेपाल देश र नेपाली समाजको अस्तित्वमाथि आँच नआउनेगरी बोल्न, कार्यक्रम गर्न, संगठन बनाउन, संस्कृतिको अनुशरण र संरक्षण गर्न पाउने अधिकार संविधानले प्रदान गरेको हकमा कुनै पनि धर्म गुरु वा धर्म आचार्यलाई पनि चर्च बनाउन पाइदैन भन्दै शान्ति बिथोल्ने अधिकार छैन । बरु सकिन्छ भने एउटै भवनमा सबै समुदायहरुको धार्मिक आस्था बमोजिम मन्दिर, गुरुद्वारा, मस्जिद, चर्च, गुम्बा बनाऔं । यसरी मानव समाजमा एकता र सदभाव झन बलियो हुन सक्छ । जसरी अङग्रेजहरुले व्यापार र आवश्यकता पूर्तिको नाममा सय वर्ष बढी भारतलाई उपनिवेशनको रुपमा प्रयोग गरे, आफ्नै सरकार बनाए अनि भारतमाथि कब्जा जमाए त्यसरी नै नेपालमाथि पनि कब्जा नहोला भन्न सकिदैन । किनकि नेपालको विकासको नाममा नेपाली भूमिमा जसले १०० वर्ष पछिको परिवर्तनको योजना आजै बनाएर बसेका छन् त्यस्ता दूरदर्शी विदेशीहरु पूर्व निर्धारित योजनाका साथ प्रवेश गरिसकेका छन् । यस्तो परिस्थितिको सामना गर्न नेपालको कानून र नेपाली मन पहिलैदेखि तयारी अवस्थामा रहनु जरुरी छ । धर्मको नाममा साम्प्रदायिक दंगा फसाद बढाउँदा हामीलाई नै ठूलो क्षति हुन सक्छ । वसधैव कुटुम्बकम पनि भन्ने अनि एकले अर्कालाई देखि नसहने दोहोरो आचरण धर्मशास्त्र विपरित हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर