मोरङ । लेनदेन तथा ठगी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको उपचारका क्रममा कोशी अस्पतालमा पुस ९ गते मृत्यु भएपछि पीडित परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।
पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै शव बुझ्न अस्वीकार गरेपछि पुस ९ गतेदेखि लासलाई कोशी अस्पतालको शवगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले ०८० पुस ९ गते कैद भुक्तान सकिएको र सोही दिन कैदमुक्त हुने अवस्थामा चण्डेश्वरको मृत्यु भएको बताउनु भयो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि ०८० पुस ७ गते बिहान साढे ४ बजे कारागार प्रशासनले चण्ढेश्वरलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गराएको थियो ।
उपचारका क्रममा क्रममा सहनीको ०८० पुस ९ गते विहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । तर, चण्डेश्वरको परिवारले भने कारागार प्रशासनले बिरामी भएको खबर ढिलो गरी दिएको, मृत्यु भएपछिमात्र खबर दिएकाले मृत्यु शङ्कास्पद भएको आरोपमा शव बुझ्न अस्वीकार गरेको छ ।
कोशी अस्पतालमा राखिएको छिमेकी प्रहरीका यादव दाहालले पीडित परिवारले लास बुझन् अस्वीकार गरेपछि पुस ९ गतेयता शवलाई शव गृहमा राखिएको बताउनु भयो ।
इन्सेककर्मीसँगको फोन सम्पर्कमा यादवले भन्नुभयो- पीडित परिवारले हत्या भएको आरोपमा शव बुझ्न अस्वीकार गरेको छ । पुस ११ गते पीडित र जिल्ला प्रशासन कार्यालयमा छलफलपछि पोष्टमार्टमको प्रक्रिया अघि बढ्नेछ ।
लेनदेन मुद्दामा चण्डेश्वर सहनीलाई मोरङ अदालतले ०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका सहनी ०७९ माघ १७ गते कारागार चलान भएका थिए ।
क्षमता भन्दा बढी कैदी रहेको मोरङ कारागारमा पुसको चिसोमा कैदीहरू भुइँमै सुन्त व्याध्य भएका कारण विरामीहुने गरेका छन् । चिसोले कैदीहरूमा जीउ सुन्निने, पेट फुल्ने, वाकवाकलाग्ने जस्ता समस्या देखिने गरेको छ । ३ सय जना क्षमताको मोरङ कारागारमा हाल १ हजार ४४ जना कैदीबन्दीलाई राखिएको छ ।
कारागारका जेलर कृष्णहरि न्यौपानेले चण्डेश्वर सहनीको उपचारका क्रममा मृत्यु भएको बताउनु भएको छ ।
कारागारमा ०८० मङ्सिर २१ गते शङ्कास्पद मृत्यु भएका लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको मृत्यु घटना छानविनका लागि मङ्सिर २४ गते गठिन समितिले पुस १५ गते प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरेको छ ।