Thu2024 October 10
२०८१ असोज २३, बुधबार

क्रिमसनको लापरवाहीले तिलोत्तमाका २६ वर्षीय युवाले खुट्टा गुमाए

28

 

भदौ २९ । २०८० सालको असार महिनाको ५ गते रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, वडा नं. ३ का अभिषेक पौडेलको दायाँ खुट्टा नै काटिएको छ । भरतपुरको चितवन अस्पतालमा २६ वर्षीय पौडेलको खुट्टा काटिएको हो । परिवारकै मुख्य सहाराको खुट्टा काटेर फ्याँकिए पछि पौडेल परिवार येतिबेला निकै ठूलो पीडा अनि त्रासबाट गुज्रीरहेको छ । ति.न.पा. वडा नं ५ अवस्थित क्रिमसन अस्पतालको लापरवाहीले आफू यो अवस्थामा पुगेको बताउँदै आएका छन् पौडेलले । क्रिमसन अस्पतालमा कार्यरत डा. मनिष गुप्ताको चरम लापरवाहीका कारण खुट्टा काट्नु परेको पीडित पक्षले आरोप लगाउँदै आएको छ भने अस्पताल पक्षले त्यस आरोपको खण्डन गरेको छ । अस्पतालका पिआरओ चन्द्रकान्त बस्यालले १०० शैय्या रहेको अस्पताल हो, अर्थाेपेडिक सर्जन डा. मनिषले सयौं विरामी हेरिसकेका छन्, आजसम्म अस्पतालप्रति कसैले असन्तुष्टि वा गुनासो गर्न नपरेको लोक सारथीलाई बताए ।

हामी संस्था हो, तिमी व्यक्ति, वकिल, मिडिया सबै पैसामा बिक्छन्, नगरपालिकामा पनि एमालेकै बाहुल्यता छ, केस त्यहाँ पुग्यो भने पनि फाइल त्यहीँ बन्द हुन्छ, यो घटना बाहिर नल्याएमा कृत्रिम खुट्टादेखि जागिरसम्मको व्यवस्था हामी मिलाउँछौं भन्ने धाकधम्कीपूर्ण आशा अस्पतालले पीडितलाई देखाएको हो ? लोक सारथीद्वारा सोधिएको यस प्रश्नको उत्तर दिदै बश्यालले भने— ‘‘त्यस्ता बकम्फुसे, निराधार कुराहरु अस्पतालले गर्छ होला र ? सार्वजनिक महत्त्वको सत्यतथ्य भएमा त्यस्को सूचना सबैलाई दिनुपर्दछ । अस्पताल आइ डाक्टरसँगै भेटेर प्रत्यक्ष रुपमा वास्तविक कुराहरु बुझ्नुस्, आज म कार्यक्रममा छु, हाम्रो क्षेत्र एउटै परेकाले तपाईलाई समय दिएँ, बाँकी आइतबार अस्पताल आउनुस्, म पनि अस्पतालमै हुन्छु । कुरा बुझेर समाचार बनाउनु पर्छ भन्ने लागेमा समाचार हाल्नुस् ।’’

अस्पतालका पिआरओ सँग करिब १० मिनेट फोन वार्ता भएको थियो । बश्यालले बताए अनुसार उनी पनि मिडियाकर्मी नै हुन् ।

दुर्घटनाको दिन

ज्येष्ठ २७ गते अभिषेक कुनै काम विशेषले स्कूटीमा मणिग्रामतिर गएका थिए । मणिग्रामको ४ नम्बरमा उनी दुर्घटनामा परे । स्थानीयहरुले लाइमिली गरी नजिकको अस्पताल क्रिमसनमा घाइते अभिषेकलाई लिएर गएका थिए । अभिषेक घाइते त थिए, लोटे पछि चोटपटक लाग्ने नै हुन्छ । उनको टाउकोमा कुनै चोट भने थिएन । दायाँ खुट्टा च्यापिएको हुँदा त्यही भागमा पीडा र सुजन थियो । कम्मरको देब्रे भागमा पनि छाला लछारिएको सानो रातो निलो डाम थियो । अस्पतालको एमरजेन्सी वार्डबाटै खुट्टाको एक्सरेको व्यवस्था अस्पतालले मिलायो । सामान्य लिगामेन्ट इन्ज्युरी हो भन्दै डाक्टरले खुट्टामा प्लास्टर लगाइ दिए । यद्यपि विरामीले सुन्निएको छ । प्लास्टर नलगाउन अनुरोध गरेका पनि थिए तर डाक्टरले केही हुन्न सन्चो हुन्छ भन्दै प्लास्टर गरि दिए । भर्ना प्रक्रिया पूरा गरेर विरामीलाई वार्डमा सारियो ।

अस्पतालमा भर्ना

विरामीलाई प्लास्टर गरिसकेपछि भर्नाका आवश्यक सबै प्रक्रियाहरु मिलाएर विरामीलाई वार्डमा सारियो । अस्पतालले अस्पतालमै राखेर विरामीको उपचार गरि रह्यो । विरामीले खुट्टा झन् धेरै दुखेको ओन ड्युटी नर्सलाई बताए । डाक्टरको सल्लाह अनुसार नर्सले सुइ लगाइ दिएपछि दुखाइमा कमी आउने । सुईले काम गर्दासम्म नदुख्ने त्यसपछि फेरि दुखाई सुरु हुने र अस्पतालले सुई लाइदिने क्रम जारी रह्यो ।

अस्पतालबाट डिस्चार्ज

भर्ना गरिएको तेस्रो दिन २९ गते विरामीलाई प्लास्टरसँगै अस्पतालले डिस्चार्ज दियो । १५ दिन पछि फलोअपमा आउनुपर्ने, आवश्यक परेमा जतिबेला आए नि हुने काउन्सेलिङ गरेर अस्पतालले विरामीलाई घर पठायो ।

फेरि अस्पतालकै बास

विरामी घर त आए तर प्लास्टर गरेको खुट्टा दुख्न छोडेन । घर गए पछि सजिलो हुन्छ भन्ने लागेको थियो तर दायाँ खुट्टा पोल्ने, बल्किने, दुख्ने भइ नै रह्यो । जेनतेन चार दिन घरै बसे । दुखाईको तीव्रता झन् झन् बढ्दै जाँदा असह्य भइसके पछि विरामी असार २ गते फेरि क्रिमसन अस्पतालमा पुगे । त्यही दिन प्लास्टर खोलियो । प्लास्टर गरेको खुट्टामा प्वाल परिसकेको थियो भने आगोले पोलेको जस्तै फोकाहरु पनि उठेका थिए । कतै कतै मरेको छाला एकातिर झुण्डिएको देखिन्थ्यो । छालाको रङ्ग कालो निलोमा परिणत भएको थियो । दुर्घटना भएको आठौं दिन प्लास्टर खोल्दा खुट्टा विभत्स स्वरुपमा परिणत भइ पिप (पस) बग्न थालीसकेको थियो । अस्पतालमा भर्ना हुनुपर्छ भन्ने डाक्टरको काउन्सेलिङ्गका आधारमा विरामीलाई फेरि भर्ना गरियो । प्लास्टर खोले पछि अब आराम आउला भन्ने लागेको थियो तर असारको ४ गते सम्म खुट्टाको हालत अझै बिग्रिदै गयो ।

खुट्टा चिरेर जाँच गर्ने डाक्टरको काउन्सेलिङ्ग

४ गते बिहान डाक्टर राउण्डमा आए । उनले खुट्टाको स्थिति पुनः चेकजाँच गरेर भित्र के भाको हो चिरेर हेर्नुपर्ने बताए । विरामीका आमा बुवा र मामाहरु सबैले राम्रो अस्पतालमा रेफर गरिदिन अनुरोध गरे । तर अस्पताल रेफर गर्न अनिच्छुक देखियो । मामाहरुबाट दिनभरी निरन्तरको दवाबका कारण अन्त्यमा अस्पतालले डामा लेखेर विरामीका आफन्तीले जहाँ लैजान चाहन्छ लैजान पाउने गरी स्वतन्त्रता प्रदान गर्दै डिस्चार्ज गरिदियो । मामाहरुले अस्पताल परिसरबाटै एम्बुलेन्सको व्यवस्था मिलाएर अन्य अस्पताल लैजाने तैयारी गरे ।

क्रिमसन अस्पतालप्रतिको विश्वास किन गुम्यो

सामान्य दुर्घटना थियो जुन उपचार पछि निको भएन । आज भोलि गरि दिनहरु बित्दै गए विरामीको अवस्था झन् बल्झिदै गयो । आफन्तजनहरुलाई सुरुमा लागेको थियो थोरै मात्र चोटपटक हो, केही दिनमा सबै सामान्य बन्छ । उपचार भइरहेको छ । तर दुर्घटना मितिले १० दिन नपुग्दै विरामीको अवस्था यसरी बिग्रियो मानौं उनी १० महिनादेखि उपचार नपाएको अवस्थाबाट गुज्रीरहेका हुँदा हुन् । खुट्टाका कोषहरु अनियन्त्रित ढङ्गले कुहिदै गएका थिए । अस्पतालको एक नर्सले त नाक खुम्च्याउँदै छ्या मरेको लाश गन्हाए जस्तो भन्दै तर्किदै एकातिर हिडिन् ।

अघिल्लो राति (मध्य रात्रि) ग्राउण्ड फ्लोरको फार्मेसी सेवा बन्द थियो । माथिल्लो फ्लोरको फार्मेसी सेवा रात्रिकालीन भएको हुनाले डाक्टरले लेखेको औषधि लिन भनेर विरामीकी बैनी नर्सले दिएको स्लीप लिएर गइन् । पुरानो पैसा बाँकी छ, क्लियर नभएसम्म औषधि पाइदैन भन्दै फार्मेसीको ओन ड्युटी स्टाफ रुखो पारामा बोलेपछि विरामीकी बैनीलाई आफ्नो गरिबी अभिशाप जस्तो लाग्न थालेको थियो एकातिर भने अर्काेतिर दाइको बिग्रिदो अवस्था देखेर केही अनर्थ पो भइहाल्ने हो कि भन्ने सोचले मानसिक तनाब उत्तिकै बढेको थियो । स्वयंलाई सम्हाल्दै विरामीकी बैनीले अहिलेको औषधिको पैसा छ, पैसा लिनुस औषधि दिनुस् भनी पैसा दिइन्, उनको हातबाट पैसा थुत्दै ‘‘यो पैसा कहाँबाट आयो ?’’ फार्मेसीका ओनड्युटी स्टाफबाट अपराधीसँग प्रहरीले अनुसन्धान गरे जस्तै पारामा प्रश्न सोधिएको थियो ।

विरामी र विरामीका आफन्तजनका लागि अस्पताल कुनै जघन्य अपराध गरेका अपराधीलाई सजाय दिने निर्मम सजायगृह जस्तो प्रतीत भइरहेको थियो । क्रिमसन अस्पतालको व्यवस्थापन र व्यवहार शैली प्रतिकूल लाग्न थालेपछि पीडित पक्षमा यो अस्पताललाई विश्वास गर्न नहुनेरहेछ भन्ने सोचको विकास भयो ।

विरामीलाई थप उपचारार्थ भरतपुर लगियो

ढिला नगरी एम्बुलेन्सको व्यवस्था मिलाइ क्रिमसन अस्पतालबाट असार ४ गते नै विरामी लिएर राति ७ बजेतिर भरतपुरका लागि हिडे विरामीका बुवा । ५ गते बिहान २ बजे भरतपुर चितवनको पुरानो मेडिकल कलेज पुर्याए । विरामीलाई एम्बुलेन्सबाट झारेर भित्र लैजानका लागि अस्पताल कर्मचारी उपलब्ध थिएनन् । कुनै विरामीका कुरुवासँग सहयोगको हारगुहार गर्दै विरामीलाई भित्र छिराए ।

विरामीको अवस्था झन्भन्दा झन् शिथिल बन्दै गयो । खुट्टाको दर्द र शरीरमा आएको कमजोरीले छोराको आशा मार्ने संहारमा पुगेका बुवा अनिष्ट हुनेबारे सोच्दासोच्दै त्रसित थिए । केही दिन अगाडि मात्र तिलोत्तमाका केही शुभचिन्तकले छोराको न्यायको विषयलाई लिएर छलफल गर्नुपर्ने भन्दै विरामीकी आमालाई भरतपुरदेखि बोलाएकाले आमा घर आएकी थिइन् । साथमा लगेको पैसा जति सबै खर्च भइसकेका थियो । अप्रेशन शुल्क नबुझाएमा अप्रेशन नहुने हो कि भन्ने डर पनि थियो । उता छोराको अप्रेशन गरेर खुट्टा काट्नुपर्छ नत्र विरामी बाँच्ने सम्भावना मात्र २५% छ भन्दै अप्रेशनको लागि तयारी गर्न डाक्टरको टोलीले भनिरहेको थियो ।

अप्रेशन स्थगित

साथमा अस्पताललाई बुझाउन पैसा नरहेको र बिहानै विरामीले जेरी, पुडी र केही मात्रामा पानी सेवन गरेको, अप्रेशन शुल्क बुझाउन पैसा नभएको र आमा पनि घरबाट फर्किने क्रम रहेकाले १२ बजे गर्ने भनिएको अप्रेशन रातिका लागि स्तगित भयो ।

छोराको सजिलो मृत्यु गराइदिन डाक्टरलाई अनुरोध गर्ने आमाको विचार

आमा पनि सहकारीबाट ऋण काडेर घरबाट अस्पताल आइ पुगिन् । कलिलो उमेरको छोरा यसरी पीडामा छट्पटाइरहेको देख्ने उनको सहनशक्तिले जवाफ दिइसकेको थियो । आमाले विरामीका बुवासँग कठोर सल्लाह गर्न बाध्य भइन् । छोराको मृत्यु सजिलोगरि हुने उपाय लाउन डाक्टरलाई अनुरोध गरौं भन्दै उनले आफ्ना श्रीमान्लाई भनिन् । विरामीका बुवालाई त्यो सुझाव मन्जुर भएन । उनले अन्तिमसम्म पनि बचाउने प्रयास गर्नुपर्ने कुरामा जोड दिए ।

खुट्टा काटियो

मामाहरु पनि अस्पतालमै थिए । सर्जरीका लागि राति ९ बजेदेखि तयारी गर्न डाक्टरहरुको टोली जुट्यो । त्यस टोलीमा विरामीका मामाको साथी पनि थिए त्यसैले उनले विशेष रेखदेख गरे । एम्प्युटेशनको तयारीकै क्रममा डाक्टरहरुले के गर्न गईरहेको भन्नेबारे जानकारी गराउँदै विरामीलाई मानसिक रुपबाटै तयार हुन प्रेरित गरे । कम्मरमुनिको सबै भागलाई एनसथेसिया दिएर चेतनाशून्य बनाइयो । रातिको १० बजे सर्जरी सुरु भयो । दुई घण्टा लामो सर्जरी १२ बजे सकियो । विरामीको घुंडा माथि करिब ४ इन्चसम्म खुट्टाको भाग काटियो । हेर्दाहेर्दै अभिषेकको जीवनमा कहिलै नसोचेको परिवर्तन आयो । विदेश जाने तयारीमा रहेका अभिषेक गन्तव्यसम्म पुर्याउने जुन खुट्टाको उनलाई यतिबेला सबैभन्दा बढी खाँचो थियो त्यही खुट्टा गुमाए ।

अभिषेकलाई भरतपुरदेखि घर ल्याइयो

अप्रेशन थेटरबाट अभिषेकलाई आईसियुमा सारियो । पाँच दिन राखेर त्यहाँबाट सर्जिकल वार्डमा ल्याइयो । करिब १५ दिन त्यहीँको बास भयो । बेड चार्ज प्रत्येक दिनको २५०० तिर्नसक्ने अवस्था नहरेपछि असार २४ गते क्यान्सर अस्पतालको छेउमै एउटा सस्तो कोठा भाडामा लिएर बसे ।

खुट्टाको कुहिएको भाग काटेर फालेपछि उनी तङ्ग्रिदै गए पछि २९ गते उनलाई घर ल्याइयो ।

घरको कमजोर आर्थिक अवस्था

पीडितका बुवा रुद्रप्रसाद पौडेलको धेरै आम्दानी हुने जागीर छैन । तिलोत्तमाको योगीकुटी स्थित खोनपानीमा उनी प्लम्बरको काम गर्छन् । महिनाभरीको कठोर परिश्रमपछि मासिक बल्लतल्ल रु. २० हजार हातमा पर्छ । घरमा अन्य आय स्रोत छैन । पीडितका एक भाइ र एक बहिनी पनि छन् । भाइबहिनी लगायत वृद्धावस्था उन्मुख आमा बुवालाई पाल्ने र परिवारको खर्च धान्ने जिम्मेवारी छोराको हुन आउँछ । स्वदेशमा बसेर कमजोर आर्थिक अवस्था सुधार होला जस्तो नदेखेपछि अभिषेक दुबई जाने प्रोसेसमा थिए । भिसा पनि आइसकेको थियो । म्यानपावरले असार २६ गते भिसा आएको जानकारी गराएको थियो तर त्यस्को भोलिपल्टै दुर्घटनामा परी खुट्टै काटिएपछि अभिषेकका सबै सपनाहरु चकनाचुर भएका छन् । पीडित परिवारले छोराको उपचारमा करिब ८ लाख खर्च भइसकेको बताएको छ ।

क्रिमसन अस्पताल घटनाको जिम्मेवारी लिन चाहन्न

एम्प्युटेशनसम्म पुर्याउने क्रिमसन अस्पतालकै लापरवाही हो भन्दै पीडित पक्षले आरोप लगाउँदै आएको छ । अभिषेकको उपचार गरिरहेका डाक्टर मनीष कुमार गुप्ताको चरम लापरवाहीले खुट्टा गुमाउनु परेको बताउँछन् पीडित । अभिषेकले बताए अनुसार भरतपुर अस्पतालको अप्रेशन गर्ने डाक्टरहरुले पनि हस्पिटलले लापरवाही गरेको भनेका थिए । आफ्नो एक डाक्टर साथीलाई अभिषेकले सबै रिपोर्ट र खुट्टाको फोटो खिचेर पठाएका थिए जसलाई हेरेपछि उनले पनि हस्पिटलकै लापरवाही भएको बताएका थिए । क्रिमसन अस्पतालको प्रशासन भने घटनाको जिम्मेवारी लिन तयार नै छैन ।

अस्पतालको धाकधम्की र झुटो आश्वासन

अस्पताल प्रशासनको तर्फबाट झुटा आश्वासन र धाकधम्की पाएका कारण आजसम्म यो घटना सम्बन्धमा पीडित पक्ष मौन नै थियो । पीडित भन्छन् बरु मारी देउ, मर्न तयार छु नत्र मलाई न्याय देउ । पीडित पक्षले सबै कुरा लुकाउँदै आएको थियो, मात्र यही आशामा कि अस्पतालले आफ्नो गल्ती स्वीकार्नेछ र उचित क्षतिपूर्ति दिने छ । पीडित परिवारले बताए अनुसार अहिलेसम्म अस्पतालबाट ३ लाख ८५ हजार ७७० रुपैयाँ प्राप्त भएको छ । उक्त रकम अस्पताल प्रशासनले दिएको हो कि डा. मनीष कुमार गुप्ताले त्यो भने खुलेको छैन । अस्पताल प्रशासनले कृत्रिम खुट्टा र जबको व्यवस्था मिलाइ दिने बताएपछि पीडित परिवार खुट्टा गुमाएको अवस्थालाई बिर्सेर भए पनि यो सबैभन्दा प्रतिकूल परिस्थितिलाई अपनाउने मानसिकतामा थियो । तर पीडितका एक साथी रोशन पुरीले १५ अगस्तमा घटनाको विवरण खुलाउँदै सामाजिक सञ्जालमा स्टाटस राखेछन् जुन अस्पतालको जानकारीमा पनि पुग्यो । अस्पतालले पीडितलाई फोन गरेर त्यस पोस्टलाई डिलिट नगरे मानवीयताको नाताले दिएको रकम फिर्ता लिने बतायो । त्यसपछि अहिलेसम्म अस्पतालले पीडितको न्यायका लागि पहल गरेको छैन ।

न्याय दिलाउन न्यायिक समितिको ढिला सुस्ती

घटनाको सम्पूर्ण विवरण सहित पीडित पक्षले केही शुभचिन्तकहरुको सहयोग र समर्थनमा गत भदौ १० गतेका दिन न्याय दिलाइ पाउँ भनि लिखित निवेदन पेश गरेको थियो । १८ गतेका दिन फोन गरेर नगरपालिकाले न्यायिक समितिको बैठक २१ गतेलाई सारिएको जानकारी पीडित परिवारलाई दियो । विभिन्न कारणहरु देखाई आज भदौ ३० गतेसम्म पनि न्यायिक समिति बैठक बसी दुई पक्षबीच छलफल चलाउने तयारीमा छैन ।

न्यायका लागि पछि नहट्ने पीडितको अठोट

अरु युवाहरुले आगामी दिनमा आफूले ब्यहोर्न परेको जस्तो दुर्गति भोग्न नपरोस् भन्दै लोक सारथीसँग चिन्ता व्यक्त गरेका थिए । आफ्नो घटनाप्रति कुनै पनि मिडियाको ध्यानाकर्षण नै नभएको बेलामा पनि उनी एक्लै न्यायका लागि सामाजिक सञ्जाल मार्फत आवाज उठाएका थिए भने आज केही मिडियाहरुले उनको खबर प्रकाशन तथा प्रसारण गरेर उनको हौसला बढाएका छन् । उनी भन्छन् मृत्युको युद्ध जितें अब न्यायको युद्ध लड्छु ।

लोक सारथीलाई पीडितले अस्पतालको रिपोर्ट दिएनन्

लोकसारथीको टिम पीडितको घरै गएर उनलाई भेटेको थियो । घटना सम्बन्धमा आवश्यक जानकारी जुटाएर रिपोर्टहरु पनि मेसेन्जरमा पठाइदिन अनुरोध गर्दै विदा भइयो । दुई दिन बित्दासम्म उनले मेसेन्जरमा रिपोर्टहरु पठाएनन् । यतैबाट मेसेज गरि रिपोर्ट पठाउन फेरि आग्रह गरियो तर उनले पत्रकार दाइबाट माग्नुस् ल हस भन्दै अरु प्रतिक्रिया दिएनन् । अब कुन पत्रकार दाईबाट माग्नुपर्ने त्यो पनि उनले खुलाएनन् । सम्भवतः उनलाई त्यो मिडियाको साथ पाए पछि अरु मिडिया नचाहिएर पनि होला रिपोर्ट उपलब्ध नगराएका ।

क्रिमसन अस्पताल र सरोकारवालासँग लोक सारथीको अपील

अस्पताल सबैको आस्था र विश्वासको केन्द्र हो किनकि त्यहाँ २४ सै घण्टा विशेषज्ञहरुको सेवा उपलब्ध हुन्छ र मर्ने मानिसलाई पनि औषधि उपचार र शल्कक्रियाको माध्यमले बचाइन्छ । भनिन्छ अस्पतालका कर्मचारीहरुबाट मिठो वचन र व्यवहार पायो भने पनि विरामीको आधा रोग त त्यसै निको हुन्छ । डाक्टर, नर्स लगायतका कर्मचारीहरुको यही सकारात्मक व्यवहारले विरामीलाई रोग सञ्चो गराउने मानसिक बल प्राप्त हुन्छ । बचेको बाँकी रोग औषधिले फालिदिन्छ । अस्पतालका स्किल्ड र अनस्किल्ड कर्मचारीहरु जीविका उपार्जन वा आर्थिक लाभका लागि खटिए पनि त्यो खटाइ सेवा भाव बिना सम्भव छैन र अस्पतालमा यो सेवा भाव देखिन्छ र देखिनु पनि पर्छ । मानव सेवाको उत्कृष्ट नमूना हो अस्पताल । एकछिनलाई मानिलिउँ कि पीडितले अस्पतालमाथि लगाएका सबै आरोपहरु झुटा हुन्, निराधार हुन् तर पीडितले जुन खुट्टा गुमाएको छ, मर्दा मर्दा बाँचेको छ, त्यो पनि क्रिमसनमा उपचार गराएको मितिले १० दिन भित्र ; त्यसलाई झुटो हो, स्वाङ्ग हो, निराधार हो भन्न मिल्दैन होला नि । यदि भन्न मिल्छ भने अस्पताल पक्षले त्यो कुरालाई सार्वजनिक रुपमै स्पष्ट पार्नु पर्दछ ।

त्यसैगरी स्थानीय सरकारको प्रत्याभूति तब मात्रै हुन सक्छ जब नागरिकले त्यसबाट अभिभावकीय संरक्षण प्राप्त गर्दछ न कि दुरुत्साहन र सेवा प्रवाहमा ढिलाइ सुस्तीको स्थिति । शान्ति, सुख र सम्मानका साथ बाँच्ने अधिकार हुनेखाने र पहुँच भएकाहरुलाई मात्रै त नहोला, गरिबले पनि बाँच्न पाउनु पर्छ । पीडितलाई अविलम्ब क्षतिपूर्ति सहित पूर्ण न्याय दिन र दिलाउन स्थानीय सरकारले उदाहरणीय भूमिका खेलोस् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x