Fri2024 May 24
२०८१ जेठ ११, शुक्रबार

खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता

9

पर्वत, असोज, १४ : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो ।

खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन् । आज साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर