Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गणतन्त्रले देशका युवाशक्ति झन् छिटो रित्ताउने निश्चित

16

लोकनाथ शर्मा लुइटेल

भदौ २२, रुपन्देही । देशमा अनेकौं शासन प्रणाली परिवर्तन पछि गणतन्त्र नेपालमा परिणत भयो । स्थानीय सरकारको भूमिका गणतन्त्र नेपालको सन्दर्भमा निकै मह्त्वपूर्ण देखिन्छ । देश र जनताको उत्थानको लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भनिन्छ स्थानीय सरकारलाई थप बलियो बनाउने हो भने प्रदेश सरकार नै चाहिँदैन । तर कहनी र कथनीमा आकाश जमिनको फरक हुने गर्छ । गणतन्त्रको सिंह त गाउँ–गाउँ, शहर–शहर पुगे तर सिंह दरबार भने अझै पनि पुगेको अनुभूति न जनताले महसुस गर्न पाएका छ्न न त देशले नै ।

केही वर्षमै देशले काँचुली फेर्ने बाचा गरेका नेताको आफ्नो काँचुली त फेरियो तर देशको काँचुली भने फेरिएन । स्थानीय सरकारमा कति बजेट आउँछ कहाँ, कति, कसरी खर्च हुन्छ सर्वसाधारणलाई या त थाहा नै छैन या त खोज तलासी गर्न फुर्सदै छैन् । केही कर्मचारी र जनप्रतिनिधिले मनलागी हिसाबले खर्च गरे पनि, मन परि मूल्यमा खरिद गरे पनि अनुगमन गर्ने कुनै निकाय नै छैन् । छ त जनप्रतिनिधि उपाध्यक्षको मातहतमा नाम मात्रको अनुगमन, जस्को कुनै औचित्य नै छैन् । देशको बिग्रँदो स्थिति देखेर आजित युवा वर्गको गन्तव्य स्थल अब अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका विदेशका विभिन्न विकसित मुलुक बनेका छन्। तत्थ्याङ्गले भन्छ शिक्षाको हब मानिएको काठमान्डौमा गत बर्ष १३७ स्नातक /मास्टर लेवलका कलेज बन्द भएका छन् । कारण कलेजले देशका विभिन्न स्थानबाट आउने विद्यार्थी पाउन सकेन् ।

दस जोड दुई उत्तीर्ण गरेपछि देश्मा भविष्य नदेखेका युवा युवतीहरु विदेशमा पढ्न भनेर कन्सल्टेन्सी धाउछन् तर कलेज जाँदैनन् । देशमा नेताको देशप्रतिको दूदर्शिता नहुनु, देशमा शिक्षा र रोजगारीको गारेन्टी नहुनु नै दक्ष जनशक्ति पलायन हुनुको मुख्य कारण हो । यही गतिमा पलायन भै रहने हो भने छिटै देश युवाविहीन बन्ने निश्चित प्रायः छ । जस्को परिणाम खतरनाक हुनेछ। त्यसैले बेलैमा नेताहरु जाग्न जरुरी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ५०० वटा नयाँ ब्यागेज ट्रली समेतको हालै व्यवस्था गरिएको छ । ती सबै ट्रली ४ पाङ्ग्रे रहेका छन् । यस अघि तीन पाङ्ग्रे ट्रली प्रयोगमा ल्याइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको महाप्रबन्धकलाई पनि थाहा छ कि अब देश रित्तिने हो । देश छोडेर विदेश जाने क्रममा उनीहरुलाई कठिनाइ नहोस् भन्नका लागि उनले चार पाङ्ग्रे लगेज ट्रलीको व्यवस्था गरि दिए । तर देशको सरकार मुकदर्शक बनेर बसिरहने कहिलेसम्म हो ? यो देशमा राहदानीको व्यवस्था हुन्छ, लगेज ट्रलीको व्यवस्था हुन्छ तर ग्लोबल स्टान्डर्ड सहितको शिक्षाको व्यवस्था हुँदैन, रोजगारीको व्यवस्था हुँदैन, यो व्यवस्था भइ हाल्यो भने त सम्भवतः रेमिट्यान्स संकलन गरेर देश चलाउन पल्केको सरकार रेमिट्यान्स पाइदैन भनेर तर्सिन्छ । सम्भवतः रोजगारी दिइयो भने टाठाबाठा युवा जनशक्ति देशमै बस्छ अनि राजनीतिमा आउँछ र सत्ता खोस्छ भनेर पनि डराएको हुन सक्छ ।

राजनीतिक दलहरुले सधै आफैले समस्या सृजना गर्ने अनि जनताको समस्याको समाधान हुन्छ, मलाई जिताउनुहोस् म गर्छु समाधान भन्दै समस्यालाई सिढी बनाएर राजनीति गर्ने, सत्तामा पुग्ने अनि जनताको सम्पत्ति भ्याउने, नागरिक थाप्लामा ऋण बढाइदिने जुन परम्परा छ त्यसको अन्त्य नभएसम्म यो देशका जनताहरुले अन्य देशतिर पलायन गर्न छोड्दैनन् भन्ने लक्षण देखिन्छ ।

प्रत्येक घरका बाबाआमालाई सोध्नुपर्छ तपाईँको छोराछोरी कहाँ छन् ? पहिला–पहिला काठमाडौंको फलानो कलेज, फलानो युनिभर्सिटि भन्थे, अहिले अमेरिका, अष्ट्रेलिया, क्यानडा युरोप, जापान, भन्दै गर्व गर्छन् तर वास्तवमा त्यो केवल गर्व होइन त्यसमा दुःख पनि मिसिएको हुन्छ जसलाई खुशीको अभिनयरुपी पर्दाले छोपिन्छ । विदेशिनु रहर होइन तर कलिलो उमेरमै विदेशी भूमिको गुलाम बन्न जानु बाध्यता पनि त होइन नि । गरे के छैन र नेपालमा ? कतार जस्तो मरुभूमिको देस त टूरिस्ट हब बन्न सक्छ भने नेपाल त स्वर्गको टुक्रा हो । यसलाई वफादारीका सथा थोरै मात्र स्याहार गरे स्विटजरल्याण्ड, नर्वे, दुबै, थाइल्यान्ड बन्न धेरै समय लाग्दैन् ।

अष्ट्रेलियाको शिक्षा विभागको रिपोर्ट अनुसार, चालू वर्ष, २०२३, अष्ट्रेलियामा ५१,१७० भन्दा बढी नेपाली विद्यार्थीहरूले उच्च शिक्षा ग्रहण गर्न भर्ना लिइसकेका छन् । अष्ट्रेलियालाई गन्त्व्य बनाउँदै विदेशिएको यो संख्यात्मक प्रवाहका कारण नेपाल चीन र भारतलाई पछि पार्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तेस्रो सबैभन्दा ठूलो मूल को रूपमा उभिएको छ । सन् २०२०–२१ मा ४,७१४ नेपाली विद्यार्थीहरुले पिआर पाइसकेका छन् ।

क्यानाडली ब्यूरो फर इन्टरनेशनल एजुकेशनका अनुसार सन् २०२२ मा क्यानडाका विश्वविद्यालयहरूमा २६ हजारभन्दा बढी नेपाली विद्यार्थी भर्ना भएका थिए । भारतमा मात्रै ६५ हजार बढी नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

माथि उल्लेखित तथ्याङ्कीय विवरण त समष्टिगत भयावह परिस्थितिको प्रतिनिधिमूलक सिंहावलोकन गरिएको एक संकेत मात्रै हो ।

श्रम आप्रवासन प्रतिवेदन २०२२ (सन्) अनुसार २००८ सेप्टेम्बरदेखि २०२१–२२ सम्म १०६६६ जनाले वैदेशिक रोजगार क्षेत्रमै मृत्यु वरण गरिसकेका छन् । कतिको त लाश पनि नेपाल आउन सकेको छैन । आर्थिक वर्ष २०२२–२३ (सन्) को पछिल्लो १० महिनामा ६ लाख बढी नेपालीहरुले रोजगारीका लागि देश छोडिसकेका छन् । यो तथ्याङ्कले प्रत्येक दिन ३ हजार ३ सय ३३ नेपालीहरुले देश छोडिरहेको देखिन्छ ।

पहिला पहिला मानिसहरु शहरको शिक्षा, स्वास्थ्य, रोजगारीका सुविधाले आकर्षित भइ शहर छिर्दा अब गाउँ रित्तिने भो भन्ने चर्चा सुनिन्थ्यो भने यसरी हरेक उमेरका नेपालीहरु राम्रो व्यवस्थापनबाट सञ्चालित देशहरुप्रति आकर्षित भइ आफ्नो देश छोडेर जाँदा अब त देशै रित्तिने भो भन्ने सर्वत्र चर्चा छ ।

गणतन्त्र अघिकै शासन व्यवस्थाले निरन्तरता पाइराखेको अवस्थामा देशको जनशक्ति अन्य देशप्रति आकर्षिक भइ रित्तिन १०० वर्ष लाग्न सक्थ्यो भने गणतन्त्रले अबको दुई दशक भित्रै देश रित्ताउने प्रायः सुनिश्चित भइसकेको चिन्तनशील बौद्धिक वर्गलाई लागेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर