सम्पादकीय
विवाह संस्कारदेखि अन्तिम संस्कारसम्म मनुष्यको जीवनमा अनेकन घटनाहरू अन्जामका रुपमा प्रकट हुन्छन् । घटनापूर्व नै ति घटनाहरूबारे थाहा पाउने तकनिकी खोज विज्ञानको तर्फबाट अझै हुन सकेको छैन । यद्यपि ज्योतिषीहरुको यस विषयमा फरक मत छ । मानिसको जीवनमा पालैपालो घट्दै जाने घटनाहरुको सम्बन्धमा पहिल्यै थाहा पाउन वा भविष्यवाणी गर्न सकिने दाबी उनीहरुको छ । सर्त यो छ कि ज्योतिषीसँग ज्योतिष विद्याको राम्रो ज्ञान हुनु जरुरी छ, साथै जन्म मिति, स्थान, समय र दिन पनि सही हुनु प¥यो । केही ज्योतिषाचार्यले भने भविष्यवाणी गर्न सक्ने विषयको सटिकतामा सवाल उठाउँछन् । लामो आयु लिएर आएकोे व्यक्तिले यदि आत्महत्या गर्दछ भने लामो आयुको भविष्यवाणी गलत भई नै हाल्ने भो । सावित्रीका पति सत्यवान अल्पायु थिए, परन्तु सावित्रीले उनलाई मृत्युको मुखबाट तानेर जीवनमा पुनः फर्काइन् । सन् १२९९ मा भारतमा एक बालकको जन्म भयो ब्राह्मण परिवारमा । उसको नाम थियो रामदित्ता । ज्योतिषाचार्यहरुको भविष्यवाणी अनुसार बालक अल्पायु थिए । १५–१६ वर्षमै उनको मृत्यु निश्चित थियो ।
एक ब्रह्मज्ञानी योगी सन्तको कृपाले बालकले भगवत दिक्षा पाए । बालकको अन्तिम दिन आइसकेको सन्तलाई थाहा थियो । त्यस दिन सन्तले बालकलाई आफ्नो तपोबलद्वारा भगवत ध्यानमा पूर्णरुपेण लीन गराए । बालक ध्यानस्थ अवस्थामा पुगे । मन, श्वास र हृदयको गति लगायत उनका इन्द्रियहरु पूर्णतः असक्रिय बन्न पुगे । त्यहीबेला कालदेव आए । बालकलाई निष्प्राण देखेर उनी यस्तो निष्प्राणलाई कालपाशमा बाँध्नुको सार्थकता छैन भन्दै फर्किए । कालदूत फर्केपछि सन्तले बालकलाई ध्यानस्थ अवस्थाबाट बाहिर ल्याए । त्यही अल्पायु बालक पछि दीर्घायु स्वामी रामानंद बने जसका शिष्य सन्त कबीरदास भए । स्वामी रामानंद १११ वर्ष बाँचेका थिए । सन्त कृपा र भगवत कृपा मिलेर असम्भवलाई सम्भव बनाइदिएको यो एक दृष्टान्त हो । भविष्यवाणीलाई गलत साबित गर्ने यस्ता थुप्रै घटना छन् । यद्यपि यहाँ चर्चामा ल्याउन खोजिएको प्रसङ्ग अर्कै छ । त्यो हो पाँच घटनाहरु जो गर्भमै तय हुन्छन् । आचार्य चाणक्यले श्लोकको माध्यमले व्यक्तिको जीवनमा हुने पाँच घटनाहरु स्पष्ट पारेका छन् । श्लोक यस प्रकार रहेको छ–
आयुः कर्म च विद्या च वित्तं निधनमेव च । पञ्चैतानि विलिख्यन्ते गर्भस्थस्यैव देहिनः ।।
अर्थात् आयु, कर्म, विद्या (ज्ञान), धनसम्पत्ति र मृत्यु यी पाँच घटनाहरु जीवात्माको भाग्यमा उसैबेला लेखिन्छ जब ऊ गर्भमा हुन्छ ।
आयु : सामान्य दृष्टिकोणका आधारमा भन्दा जन्मदेखि मृत्युअघिसम्मको जीवनयात्राको निश्चित दूरी नै आयु हो । यो दूरी छोटो, मध्यम र लामोमध्ये एक जुन पनि हुन सक्छ । प्राचीन आयुर्वेदाचार्यहरूले आयुलाई यसरी परिभाषित गरेका छन् : शरीरेन्द्रिय सत्त्वामसंयसोगो धारि जीवितम् । नित्यगश्चानुबन्धश्च पर्यायैरायुरुचयते ।। अर्थात् शरीर, इन्द्रिय (ज्ञानेन्द्रिय र कर्मेन्द्रिय), मन र आत्माको संयोगलाई आयु भनिन्छ । अंडज, ऊष्मज, पिंडज र जलज सबै प्राणीको आयु पूर्व निर्धारित छ । आयुको सिर्जना र विलय निश्चित भइसकेकाले यसमा फेरबदल ल्याउन जोड दिनै नपर्ने बताउँछन् नीतिकार चाणक्यले । कोही गर्भमै तुहिन्छन् । कोही जन्मेको केही समयमै अन्तिम श्वास फेर्छन् । केही मानिसहरू अल्पायुमै जीवनयात्राको क्रमलाई भङ्ग गर्न बाध्य हुन्छन् भने कोही १२२ वर्षको आयु भोग गर्छन् ।
कर्म : मानिसको कर्मप्रधान योनि हो । व्यक्तिको व्यक्तित्वलाई कर्मले नै प्रतिबिम्बित गर्दछ । कर्म नै व्यक्तित्व निर्माणको आधार हो भने कर्म नै भाग्य बनाउने कच्चा पदार्थ हो । हामीले जे बोल्छौँ, जे सोच्छौँ र जे गर्छाैँ त्यसले कर्मको स्तर वा श्रेणी निर्धारण गरेको हुन्छ । व्यक्तिले जुन कर्मलाई जीवनसञ्चालनका लागि वरण गर्दछ त्यही उसको वर्ण हो, यो स्वतः सिद्ध कुरा हो तर उच्चता र निचतासँग मानव जातिलाई हाम्रा पुर्खाहरूले जोडेनन् । कोही डाक्टर, कोही इन्जिनियर, कोही कलाकार, कोही शिक्षक त कोही अपराधी बन्छन् । सबै डाक्टर हुन्नन्, न त सबै कलाकार नै हुन्छन् । सबै जना अपराधी पनि हुँदैनन् । कर्मको यो विविधता गर्भमा कर्म निर्धारण हुनाले सिर्जना भएको हो । अवस्थाका आधारमा कर्म तीन प्रकारका हुन्छन् क्रियामान, सञ्चित र प्रारब्ध कर्म । अहिले हामीले जे गरिरहेका छौँ वा गर्नेवाला छौँ त्यो क्रियामान कर्म हो । जुन कर्म हामीले गरिसकेका छौँ तर फल भोग्न बाँकी नै छ, त्यो सञ्चित कर्म हो भने हाम्रा सञ्चित कर्महरूमध्ये जुन जुन कर्म नियन्ताले हामीलाई भोग्न उपलब्ध गराउँछन् त्यो प्रारब्ध कर्म हो । हामीले अनेकौँ जन्ममा गरेका अनेकौँ कर्महरू सञ्चित अवस्थामा रहेका छन् । तिनै कर्महरूको फल भाग्य या प्रारब्धका रुपमा हामीले भोग्छौँ । प्रारब्ध कर्म गर्भमै निश्चित भइसकेको हुन्छ ।
विद्या : विद्यालाई ज्ञानको स्वरुपमा हेरिनु पर्दछ । तालिम लिएर वा विद्यालय गएर आर्जन गरिने विद्याको कुरा गरिएको होइन । यो विद्या वा ज्ञान जीवात्माले जन्मदै लिई आएको हुन्छ । कोही परा विद्याको खानी बोकेर जन्मन्छन् त कोही अपरा विद्याले युक्त भएर जन्म लिन्छन् । उनीहरू यि क्षेत्रहरूमा पराकाष्ठासम्मै पुग्न सफल हुन्छन् । परा विद्या तत्वज्ञान वा आत्माको ज्ञानसँग सम्बन्धित छ । परा विद्याले संसारदेखि मुक्ति दिलाउँछ, परब्रह्मसँग एकाकार बनाउँछ । आत्म र परमात्म तत्वको पहिचान दिलाउँछ । त्यसैले परा विद्यालाई ब्रह्मविद्या पनि भनिएको छ भने अपरा विद्यामा पञ्चमहाभूत र मन, बुद्धि अहँकार पर्दछन् । चार वेद, उपनिषद, पुराण, भौतिकवाद, सौर्यमण्डल, वायुमण्डल यी सबै अपरा विद्याका उदाहरण हुन् । अपरा विद्याका धनी हुनेले प्रकाण्ड पण्डित वा वैज्ञानिकका रुपमा लोकप्रियता हासिल गर्छन् भने परा विद्याले सम्पन्न जीवात्माले महान योगी, तत्वज्ञानी, तपस्वी, सन्यासी, सन्त आदि बनेर आफ्ना २१ पुस्तालाई तारिदिन्छन् । विद्या पनि गर्भमै तय हुन्छ ।
धनसम्पत्ति : श्रीकृपा सबैले पाउँदैनन् । संसार सम्पन्नशाली र विपन्नहरूको मिश्रणबाट निर्मित छ । चिठ्ठा परेर कोही एक झट्कामा करोडपति वा अर्बपति बन्छन् भने कोही पलभरमै रोडपतिमा रुपान्तरित हुन्छन् । कसैसँग अथाह सम्पत्ति छ । के खाने, के लाउने भन्दै आँसुका चौधारसँगै जिउन बाध्य छन् अनेकौँ जीवनहरू । कसैले एक मिनेट काम गर्दा त्यो एकलाखामा रुपान्तरित हुन्छ भने कसैले एकलाख बराबरको काम गर्दा पनि हातमा एक रुपैयाँ उपलब्ध हुँदैन । धनसम्पत्तिको मामिला पनि गर्भमा तय हुन्छ ।
मृत्यु : पञ्चमहाभूत विखण्डित भएर शुद्धचेतना स्वतन्त्र बन्ने स्थितिलाई मृत्यु भन्न सकिन्छ । पञ्चमहाभूत र अखण्ड ज्योति स्वरुप आत्मा एक अर्कामा आश्रित हुँदासम्म मात्रै जीवनको अस्तित्व सम्भव छ । जति बेला चिदानन्द स्वरुपले शरीर रुपी वस्त्र त्यागिदिन्छ, त्यति बेलादेखि नै यस देहको सार्थकता नष्ट हुन्छ । मृत्युका अनेकौँ बहाना छन्– विषपान, हत्या, दुर्घटना (जल,थल, आकाश), गम्भीर रोग, देहदहन, झुन्डिनु, भोकमरी आदि । एउटै प्रकारको बहानाले सबैको मृत्यु हुँदैन । कसरी, कहिले, कहाँ मृत्यु हुने भन्ने कुरा पहिलै तय भइसकेको हुन्छ, गर्भमै ।
प्रारब्धलाई बदल्ने सामर्थ्य ईश्वरको पनि छैन । कुनै मानिसले यो जन्ममा वेश्यावृत्ति गर्छ, घुस खान्छ, मासमदिरा भक्षण गर्छ तर उसलाई सुख, मानसम्मान र उच्च पद प्राप्त छ, यो उसको प्रारब्धले दिलाएको हो भने कुनै व्यक्तिले धर्म आचरण गर्छ, भागवत भक्तिको अभ्यासमा छ, धर्मपरायण छ, मासमदिरादेखि टाढा छ तर दुःखी छ, आरोप लागेका छन्, रोगले आक्रान्त छ, विपन्न छ भने यो उसको प्रारब्ध कर्मको फल हो ।
चिन्तन गर्दा प्रतीत हुन्छ आयु, कर्म, विद्या, धनसम्पत्ति र मृत्यु सबै प्रारब्ध कर्मकै अनुरुप जीवात्माले भोग गर्नुपर्ने कुरा हुन् । म बुटवल बजारमा विचरण गर्छु भने जहाँ उपस्थित छु बुटवलको तिनै स्थानहरूको दृश्य प्रत्यक्ष रूपमा अनुभूत गरिहेको हुन्छु । भैरहवा बजारको दृश्य मेरा आँखा अगाडि उपलब्ध हुँदैन । भैरहवा बजारको के कुरा गर्नु, बुटवलको मिलनचोकमा उभिएको छु भने मैले हाटबजार लाइनको दृश्य हेर्न वा अनुभूत गर्न पाउँदिनँ । अर्काे दृष्टान्तका रूपमा सफ्टवेयरलाई लिन सकिन्छ । बैंकमा प्रयोग हुने सफ्टवेयरबाट फोटोशपको काम लिन्छु भनेर सम्भव छैन किनकि बैंकलाई मात्र काम लाग्ने गरी त्यसको कार्यात्मक प्रणाली डिजाइन भएको हुन्छ । त्यसै गरी तयारी नै नगरी परीक्षा दिएको व्यक्तिले परीक्षा उत्तीर्ण गर्नै सक्दैन । कर्म एकथोक गर्ने फल अर्कै खोज्ने कुराका बिच कुनै सम्बन्ध छैन भन्ने दृष्टान्तका लागि यी उदाहरण राखिएका हुन् । कुनै पनि कर्मको सिधा सम्बन्ध प्रतिफलसँग रहेको हुन्छ । यसअघिको जन्ममा जे भयो त्यो भइसक्यो, अब यो जन्मदेखि आउने दिनहरूका लागि पुरुषार्थ गर्न भने छोड्नु हुन्न ।