Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घटनाको सत्य तथ्य सार्वजनिक गर्न बेपत्ता पारिएका परिवारको माग

14

उमाकुण्ड गाउँपालिका-५, प्रीतिमा ०५९ माघ १२ गते साँझ गाउँमा इन्द्रबहादुर कटुवालको घरमा क्रियापुत्री रुँग्न जानु भएका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु भएको २१ वर्ष बित्यो । उहाँको अहिलेसम्म न सास पत्ता लागेको छ, न लास नै । घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उपेन्द्रप्रसाद गुरागाईँकी पत्नी इन्द्रकुमारी गुरागाईँको माग छ ।

पुरोहित काम गर्ने गुरागाईँलाई माघ २३ गते बिहान क्रियापुत्री बसेकै घरबाट तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेर लगेका थिए । गुरागाईँ बेपत्ता पारिँदा कुनै राजनीतिक दलमा आबद्ध पनि हुनुहुन्नथ्यो । उहाँको जेठो छोरो रामचन्द्र गुरागाईँ भने नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई जागिर छुटाउन माओवादीले बारम्बार दबाब दिँदै आएका थिए ।

माओवादीले गुरागाईँलाई अपहरण गरेको कुरा समेत गुरागाईँ परिवारले तत्काल जानकारी पाउन सकेनन् । माओवादीले क्रियापुत्री बसेकै घरबाट लगेका गुरागाईँ सोही घरबाट लगेको भनेर डरको कारण स्थानीयले बताउन समेत सकेनन् । ‘पछि बुझ्दै जाँदा बुबालाई क्रियापुत्री बसेकै घरबाट लगेका रहेछन्’, गुरागाईँका छोरा पूर्णप्रसाद गुरागाईँले भन्नुभयो । युद्ध विराम भएपछि अपहरणमा परेका गुरागाईँको अपहरणको केही दिनपछि ओखलढुङ्गा जिल्लाको टार केराबारीमा हत्या भएको माओवादी पक्षबाट गाइँगुइँ हल्ला चलाइयो । तर त्यसको न माओवादीले पुष्टि गर्न सक्यो, न परिवारलाई नै औपचारिक जानकारी दियो । न त अहिलेसम्म राज्यले नै त्यसको पुष्टि गरेको छ ।

परिवारलाई अब गुरागाईँ फर्किएर आउनुहोला भन्ने आस मरिसक्यो । तर राज्य र तत्कालीन विद्रोहीले औपचारिक घोषणा नगर्दा उहाँहरू मानसिक तनावमा हुनुहुन्छ । ‘अब उहाँ फर्किएर आउनुहोला भन्ने आस त छैन, तर अवस्था के हो भनेर कसैले निर्क्योल दिएको छैन’, उपेन्द्रकी पत्नी इन्द्रकुमारी गुरागाईँले भन्नुभयो ।

उपेन्द्रप्रसाद गुरागाईँ २०१९ सालमा जन्मनुभएको थियो भने उहाँ ४० वर्षको उमेरमा बेपत्ता पारिनुभएको थियो । यो २० वर्ष उहाँको परिवारले ठूलो तनाव बेहोर्नु परेको छ । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएर सरकामा गएकै १७ वर्ष भयो तर उपेन्द्रको अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । ‘जीवित भए कहाँ हुनुहुन्छ बताइदिनु पर्‍यो, मारिएको हो भने पनि मारिएको भनिदिनु पर्‍यो, हामीले हाम्रा स्थिति अनुसार काजक्रिया गर्ने थियौँ’, छोरा पूर्णप्रसादले भन्नुभयो ।

राज्यले छानबिन गरेर जे हो त्यो सत्य तथ्य सार्वजनिक गर्नु पर्ने गुरागाईँ परिवारको माग छ । राज्यले बेपत्ता पारिएका नागरिक छानबिनको मामलामा गम्भीर नभएको भन्दै उहाँहरूले गुनासो गर्नुभयो । ‘राज्यले चाह्यो भने सबै कुरा छानबिन गर्न सक्छ, राज्यले नै वास्ता नगरेपछि के लाग्ने रहेछ र’, पूर्णप्रसादले भन्नुभयो । साभारः इन्सेक अनलाइन

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर