Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घरेलु हिंसाका अधिकांश घटना मिलापत्रमै टुङ्गिने

15

जिल्ला प्रहरी कार्यालय तनहुँमा घरेलु हिंसाका अधिकांश घटनाहरु दर्ता भएर मिलापत्रमै टुङ्गिने गरेका छन् ।

तनहुँमा पछिल्लो तीन वर्षमा ३ सय ४० ओटा घरेलु हिंसाको घटना दर्ता भएको छ । सबैभन्दा धेरै ०७८/०७९ मा २ सय ७ ओटा  घरेलु हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । कार्यालयका अनुसार त्यस मध्ये १ सय ५१ ओटा  घटना मिलापत्रमा टुंगिएको थियो भने ५६ ओटा  घटना मात्र अदालतमा गएको थियो ।

त्यस्तै ०७९/०८० मा १ सय २१ ओटा  घरेलु हिंसाको घटनाको उजुरी दर्ता भएकोमा ८३ ओटा मिलापत्रमा टुंगिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा रहेको छ । सो वर्ष ३८ ओटा घटना अदालती प्रक्रियामा गएको थियो ।

यस्तै चालु आर्थिक वर्ष ०८०/८१ को कात्तिक महिनासम्म १२ ओटा  घरेलु हिंसाका घटना मात्रै दर्ता भएका छन् । त्यसमा सबै घटना मिलापत्र गरि टुंगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिनु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा एसपी विष्टले तीन वर्षको घटनाको तथ्याङ्क सार्वजानिक गर्दै महिला र बालबालिका सम्बन्धी अपराध तर्फ आर्थिक वर्ष ०७८/०७९ मा ४८ ओटा  घटना दर्ता भएको जानकारी दिनु भयो ।

त्यसैगरि आर्थिक वर्ष ०७९/०८० मा ४७ र चालु आर्थिक वर्षमा हालसम्म आठ ओटा महिला र बालबालिका सम्बन्धी अपराधका घटना दर्ता भएका छन् । यस वर्ष दर्ता भएका आठ ओटा  मुद्दा मध्ये ६ ओटा  बलात्कार र दुई ओटा  बलात्कार प्रयासका मुद्दा रहेका छन् ।

घरेलु हिंसामा उजुरी दर्ता भइसकेपछि अदालत पठाउनु अघि एक पटक पीडितको रुची बुझ्नु पर्ने हुन्छ, त्यसक्रममा अधिकांश पीडितहरु मिलापत्र गर्न तयार हुने एसपी विष्टले बताउनुभयो । तर बलात्कार, बलात्कार प्रयास, मानव बेचविखन, बोक्सीको आरोप, बालविवाह, बहुविवाह जस्ता महिला र बालबालिका सम्बन्धी अपराधमा मिलापत्र हुनै नसक्ने र त्यस्ता मुद्दामा फौजदारी कानुन अनुसार नै प्रक्रिया अगाडि बढाइने एसपी विष्टले बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर