काठमाडौं, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वका वेलामा समेत अस्पतालका सेवा प्रभावकारी बनाइराख्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । नजिकिइरहेका दसैं, तिहार र छठ लगायत चाडपर्वका बेला नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवामा कमी हुन नदिन तयारी र व्यवस्थापन गर्न अस्पताल प्रशासनहरुलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
चाडबाडको बिदामा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुुनुपर्ने, एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीआईएनसँग बताउनुभयो । उहाँले केही स्वास्थ्य सम्बन्धी जानकारी लिन परेमा १११५ र ११३३ मा फोन गर्न सकिने पनि बताउनुभयो ।