हुम्ला । विगत चार वर्षदेखि काम गरेको ज्याला नदिएको भन्दै स्थानीय कामदारले ०८० मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
नाम्खा गाउँपालिका–४ स्थित इलिङ डाँडामा ०७७ वैशाखमा महिनामा सडकको काम गरेको ज्याला हालसम्म नदिएको भन्दै आठ जना कामदारले ठेकेदार तेज बहादुर महत र असल शाहीविरुद्ध प्रशासनमा उजुरी दिनु परेको पीडित रमेश छत्यालले बताउनुभयो । उहाँका अनुसार चार वर्षदेखि काम गरेको ज्याला नपाउनेमा सिमकोट गाउँपालिका–७ स्थित धारापोरी गाउँका रविन्द्र शाही, तेज बहादुर शाही, रामचन्द्र सिंह, धनराशी सिंह, गणेश छत्याल र समझना सिंह लगायतका कामदार रहेका छन् ।
आफूहरुले दुई हप्ता काम गरेको कम्तीमा पनि प्रति व्यक्ति २० हजारका दरले १ लाख ६० हजार रुपियाँ पाउनु पर्ने हो तर हालसम्म एक रुपियाँ नदिएको अर्का स्थानीय कामदार रामचन्द्र सिंहले गुनासो गर्नुभयो ।
सो विषयमा ठेकेदारालाई झिकाएर दुबै पक्षसँग छलफल गर्ने प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयाे ।
नन्द सिंह/इन्सेक