Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चेपाङ समुदायका बालबालिकाहरू १५ वर्षदेखि टहरामा पठनपाठन गर्दै

21

धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा १५ वर्षदेखि टहरामा पठनपाठन गर्दै आएका हुन् ।

भूकम्पपछि विद्यालयहरू निर्माण भए । पहुँच पुगेका ठाउँहरूमा विद्यार्थी नभए पनि विद्यालय बनिरहेको छ । तर दुम्लिङस्थित सहारा आधारभूत विद्यालयका चेपाङ बालबालिकाहरू भने भोकै विद्यालय आउनुका साथै टहरोमै पढाउनु परेको विद्यालयका प्रधानाध्यापक सावित्री मगरले बताउनु भयो ।

बेनिघाट रोराङ गाउँपालिकाले १४ करोड खर्च गरेर स्थानीय भवन बनायो । वडा कार्यालयहरूका पक्की भवनहरू पनि बने । राजमार्ग आसपासका विद्यालयहरूलाई वर्षेनी लाखौँ बजेट विनियोजन गरेर विद्यार्थी थोरै भए पनि बनाइयो तर अझै ग्रामीण क्षेत्रका विद्यालयहरूमा स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

घरमा खानेकुरा नभएपछि भोकै विद्यालय आउने इसिडिमा अध्ययन गर्ने आइसा चेपाङ र विक्रम चेपाङ अनि बुबाको मृत्युपछि आमाले छाडेका कक्षा १ का मिलन चेपाङ यही विद्यालयमा अध्यायन गर्नुहुन्छ । अहिले सहारा आविको इसिडिमा ५० जना र कक्षा १ मा २३ जना विद्यार्थी गरी ७३ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ सम्म पढाई हुने सहारा आवि २०६५ सालमा स्थापना भएको हो ।

चेपाङ बालबालिका पढ्ने उक्त विद्यालय भवन निमार्ण गर्न पटक-पटक माग गर्दा पनि बजेट नपरेको शिक्षिका सावित्रा मगरको गुनोसो छ । ‘अब बनाउने हो भन्नु हुन्छ खै अहिले सम्म बजेट परेको छैन । इसिडि कक्षाको लागि काम चलाउ माटोको भवन छ तर १ कक्षाको लागि चाहीँ बाहिर टिनको छाप्रो बनाएर पढाउँदै आएका छौँ’, उहाँले भन्नुभयो ।

राजमार्गबाट १८ किलोमिटर टाढा रहेको उक्त विद्यालय आधाबाटो सम्म यातायताको पहुँच छ भने १ घण्टा पैदल यात्रा गर्नु पर्छ । यो जाडोको समयमा विद्यार्थीहरूको न्यानो पोशाक पनि छैन । विद्यालय खाजाका लागि विद्यालय आउने बालबालिका चिसोमा कठ्याङ्ग्रिँदै पढ्न बाध्य भए पनि स्थानीय सरकारको ध्यान नगएको चेपाङ अगुवा तिलक चेपाङको भनाई छ ।

नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ । तर बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिहरू विद्यालय भवन नहुँदा टहरामा पढ्नु पर्ने बाध्यता र अझै पनि धेरैजसो बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर