हुम्ला । खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत र सोही ठाउँको हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासमा बस्ने १६ वर्षीया सुजाता रावलकाे ०८० मङ्सिर ४ गते खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चे गौँडा नजिक रहेको कर्णाली नदिको किनारमा शव फेला परेको छ । छात्रालाई हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासले असोज ११ गते निष्कासन गरेको थियो ।
छात्रावासबाट निष्कासन गरेर सदरमुकाम सिमकोटमा आफ्ना भिनाजुको घरबाट असोज १३ गते सम्पर्क विहिन भएको भन्दै भिनाजु चिन बोहराले सोही दिन खोजविनका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
सम्पर्क विहीन भएको झण्डै १ महिना २३ दिन पछि शव फेला परेको छ । मृतकका भिनाजुले नाम्खा गाउँपालिका–४ यालवाङ स्थित हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासका शिक्षक र शिक्षिकाले शरीरिक तथा मानसिक तनाव दिएपछि मृत्यु बाटो रोजेकोे आरोप लगाउनुभयो ।
शवको पोष्टमार्टम ०८० मङ्सिर ५ गते जिल्ला अस्पतालकमा भएको अस्पताल प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनुभयो ।
नन्द सिंह/इन्सेक