Sat2024 July 27
२०८१ साउन १२, शनिबार

छुवाछूत कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना

16

कास्की। छुवाछूत गरेकाे कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले ४ चार महिना कैद र ७५ हजार जरिवानाको फैसला गरेको छ।

जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई बिहिवार अदालतले सो बमोजिमको आदेश गरेको हो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

सूचना अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछूत र भेद्भावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो। सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था छ। सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताए।

२०७९ साल पुस १८ गते वडाको चालु आ.व. को लक्षित बजेट विनियोनका विषयमा छलफल हुने क्रममा वडा अध्यक्ष अधिकारीले वडा सदस्यमाथि जातीय भेदभावपूर्ण व्यवहार गरेका थिए । यसको नौ दिनपछि पीडितको उजुरीका आधारमा वडा अध्यक्षलाई पुस २७ गते बुधबारका दिन प्रहरीले पक्राउ गरेको थियो ।

पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन्। यसैगरी पीडित नेपालीलाई अधिकारीले १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन्।

नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए। घटना पछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको मितिले १० महिना १३ दिन तथा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको मितिले १० महिना ३ दिनमा पीडितको पक्षमा फैसला भएको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर