Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जग्गा रजिस्ट्रेसनको रकम गायब, नायब सुब्बा किरणप्रसाद विरुद्ध ५,५५,१९,९७५ रुपैयाँ बिगो माग

14

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७१/०७२ मा जग्गा किनबेचका क्रममा रजिस्ट्रेसन तथा पुँजीगत लाभकरबापतको रकम दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

तत्कालीन मालपोत अधिकृत हरिनायण मिश्रसहितले एउटै रजिस्ट्रेसनमा एकभन्दा बढी लिखत पारित गरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो कायम गरी अख्तियारले दोब्बर जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

पर्सा मालपोत कार्यालयका अर्का अधिकृत भूपबहादुर बोगटीलाई पनि विपक्षी बनाइएको छ । बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

अर्का अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ । यस्तै, अर्का अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

अर्का मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ रुपैयाँ बिगो कायम गर्दै दोब्बर जरिवाना दाबी गरिएको छ । अर्का मालपोत अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

मृत्यु भइसकेका तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ बिगो कायम गरी उनका छोराहरूबाट असुल गर्न मागदाबी गरिएको छ । उपाध्यायका छोराहरू राजकिशोरप्रसाद,  गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्ययलाई पनि बिगो असुलउपरका निम्ति विपक्षी बनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर