सम्पादकीय
दुर्घटना, प्राकृतिक आपदा, अति वृष्टि, अनिकाल, जंगली पशुको आक्रमण, महामारी जस्ता प्रतिकूल अवस्थाको सामना बेला बेलामा मानव समाजले गर्दै आएको छ । केही घटना टारेर नटर्ने खालका हुन्छन् भने केही घटनालाई मानवले बेलैमा बुद्धि पुर्याएको खण्डमा टर्न पनि सक्छ । भूस्खलन, पहिरो र बाढीलाई न्यूनिकरण गर्नका लागि वृक्षारोपण गरिनु पर्दछ भन्दै हामीले पढ्यौँ र पढायौँ पनि । नदी, नालाको तटबन्ध क्षेत्रमा बस्ती बसाउनु हुँदैन भन्ने कुराको जानकारी सबैलाई छ तर पनि खोला र बगरकै छेउछाउमा बसोबास गर्न हामीलाई मन पर्छ । जंगल छेउछाउका रुख कटानी गरी प्राकृतिक वन क्षेत्रमा बस्ती बसाली हामीले अतिक्रमण गरिरहेका हुन्छौँ । स्वार्थपूर्तिका लागि हरियालीलाई प्रकृतिबाट जबर्जस्ती खोसेर आफ्नो जीवनलाई आश्रय दिन खोजिरहेका छौँ । अरुको अधिकार खोसेर आफ्नो अधिकारको जग बसाल्ने कार्य मानवीय जिम्मेवारीभित्र पर्दैन भन्ने कुरालाई हामीले बर्सिदियौँ । क्रसर उद्योग खोलानालाकै छेउमा सञ्चालन गर्दै छौँ । आफ्ना घर ठड्याउनका लागि अत्यधिक गिट्टीबालुवा संकलन गरिरहेका छौँ । दोहनमात्रै नभई अतिदोहनको कार्यलाई अगाडि बढाउँदा प्रकृतिको छातीमा परेको चोटले मानवजीवनलाई त्यसरी नै आघात पारिरहेको छ । क्रसर उद्योग चलाउने, वन फडानी गर्ने, जेसिबीले अनावश्यक रुपमा जमिन उधिन्ने जस्ता प्रकृतिविरोधी कार्यहरुलाई नेताहरुले नै बढावा दिदै आएका छन् ।
उसो त पहाडी क्षेत्रमा त्यसै पनि पहिरोको जोखिम धेरै नै हुन्छ । गुरुत्वाकर्षणले भिरालोमा भएका बोटबिरुवा, रुख, ढुङ्गा र माटोलाई तलतिरै तानिरहेको हुन्छ । अत्यधिक वर्षा भई आएमा माटो गल्छ र रुख र वनस्पतिका जरालाई समातेर राख्न सक्दैन । माटो भिजेर गह्रुङ्गो हुन्छ । गह्रुङ्गो माटो गुरुत्वाकर्षणको प्रभावमा परिरहँदाको अवस्थामा भूस्खलनले स्थान पाउँछ । फलस्वरुप बडा बडा रुखहरु साना वृक्ष र बोटबिरुवासहित पहिरोका रुपमा तलतिलर गतिमान् हुन्छन् । त्यतिबेला यसको मार्गमा जो आउँछ उसको अस्तित्व मेटिन्छ । अहिले नेपालमा देखिएको दृश्य परिदृश्य यही हो । पहाडी तथा हिमाली क्षेत्रहरुमा बढी धनमालको क्षति भएको छ, भारी वर्षाका कारण । लेदोसहितको बाढी तथा पहिरोले मर्नेहरुको संख्या १०४ पुगेको छ । यो संख्या अझै बढ्न सक्ने सम्भावना छ । घरहरु कतै डुबानमा परेका छन् भने कतै पहिरोमा पुरिएका छन् । सडक भासिएका छन् । पूलहरु पानीको तीव्र वेगमा बगेका छन् । यात्रामा सक्रिय रहेका वाहनहरु कतै बाढीले बगाए त कतै पहिरोमा लुके । भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान विभागबाट व्यक्त गर्दागर्दै पनि यात्रालाई स्थगित नगर्नु यातायातको व्यवस्था मिलाउने सम्बन्धित समितिको पनि हेलचक्राइँ देखिन्छ । यात्रु आफैँले आफ्नो सुरक्षाका लागि यात्रालाई स्थगन गर्नुपर्ने थियो । यात्रु पक्षबाट पनि लापरवाही भएको छ भन्न सकिन्छ । आगामी दिनहरुमा मनसून सक्रिय रहेका बेला लामो यात्रा गर्नुहुन्न भन्नेतर्फ सबै सरोकारवालाहरुको ध्यान पुग्न पनि उत्तिकै आवश्यक छ ।
नेपाली काँग्रेसले सबै सांसदहरुबाट १५ दिनको तलब संंकलन गरेर सरकार राहत कोषमा ५० लाख राखिदिने घोषणा गरेको छ । यो सदाशयता पार्टीको तर्फबाट पहिलै किन देखिएन ? दुःख झेलेर लामो समयदेखि देशका नागरिक बस्दै आएका टिनका टहराहरुलाई पक्की घरमा परिणत गर्नका लागि पहिलै किन प्रयोग भएन ? खोला, नदीको ढिकमा घर बनाएर बसिरहेका जनतालाई सचेत तुल्याई नेपाली राजनीतिले पहिलै सुरक्षित स्थानमा बसोबासको व्यवस्था किन मिलाउन सकेन ? नेपाल प्रहरी र ट्राफिक प्रहरी दुर्घटना नहोस् भन्नका लागि सक्रिय भएको देखिदैन, दुर्घटना भएपछि मात्र घटना स्थलमा पुग्छ, त्यो पनि विलम्बका साथ । जीर्णशीर्ण बनेका वा जोखिमयुक्त आधार (जग)मा अडिएका पूलहरुको बेलैमा अनुगमन र मर्मत कार्य नभइदिँदा हुन गएको दुर्घटनाको जिम्मा राज्यले लिन्छ कि लिँदैन ? प्राकृतिक आपदाजन्य दुर्घटना होस् चाहे मानवसिर्जित अप्रिय घटना, दुबै प्रकृतिका दुर्घटनालाई रोक्न या दुर्घटनाको क्षतिलाई न्यूनतम तुल्याउन किन परिचालित हुँदैन राज्य ? बाढीमा फसेका बाढी पीडितले उद्धार गरिदेला सरकार आएर भनी कुर्दाकुर्दै ज्यान गुमाएका छन् । राज्यपक्षबाट भएको उचित व्यवस्थापनको अभावमा अकालमा जनताको जीवन अस्ताइरहँदासमेत नेताहरु पार्टीलाई बलियो कसरी बनाउने, सत्तामा कसरी टिक्ने, चुनाव जित्नका लागि चुनावमैत्री मतदाताहरुको संख्या देशैभर कसरी बढाउने भन्नेमै केन्द्रित रहेर कार्यकाल पूरा गर्छन् । सधैँ कुर्सी तानातानको खेलमा अल्झिन नेताहरुलाई अब छुट छैन । मैले सांसद वा मन्त्री पद ओगटेकाले तलब खाँदै छु कि जनताको हित र देशको सुरक्षाका लागि आवश्यक कार्यहरु गरेर तलब खाएको छु ? यो प्रश्न सबै नेता तथा प्रतिनिधिहरुले आफूसँग एकपटक सोध्नु आवश्यक छ । जीवन गुमाउने सबैप्रति सद्गति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै शोकसन्तप्त परिवारजनमा पीडा सहने आँट मिलोस् भन्ने भावना प्रकट गर्दै गहिरो समवेदना व्यक्त गर्दछ लोकसारथी परिवार ।