Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जन्म र मृत्युमा कसलाई कति सुतक र जुठो लाग्छ

18

 

    लोक सारथी

कात्तिक ९, रुपन्देही । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार सबैभन्दा धेरै जुठो बार्नुपर्ने आमा–बुबा र पतिको मृत्युमा एक वर्ष हो ।
त्यसपछि पत्नीको तीन महिनासम्म, भाइ र छोराको ४५ दिनसम्म र सपिण्डीको एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गर्छ । यो समयभित्र छोराछोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ ।

हिन्दू संस्कार अनुसार मानिसको जन्मभन्दा अघि नै सुरु हुने १६ वटा संस्कार मानिसको मृत्युपछि मात्रै पूरा हुन्छ । यी १६ संस्कार मध्ये जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ ।

सानादेखि ठूला चाडपर्वमा जुठो र सूतकका कारण धेरैलाई समस्या हुने गरेको पाइन्छ । यस कारण अहिलेको दशैं धेरै जनाको छेकिएको थियो भने कतिपयको तिहार पनि छेकिएको हुन सक्छ । चाडपर्वं मात्रै होइन सुतकका कारण धार्मिक पूजापाठ, अनुष्ठान आदि पनि बाधित हुन्छन् भन्ने मान्या रहिआएको छ । कुन् सम्बन्धको कति दिनसम्म जुठो वा सूतक बार्ने भन्ने विषयमा अन्यौल हुँदा पनि धेरैलाई समस्या हुने गरेको पाइन्छ । सगोत्री, सपिण्डी र सोदकी जस्ता सम्बन्धहरुबारे जानकारी नहुँदा धेरैमा यस्तो समस्या देखिने गरेको छ ।

सपिण्डी, सोदकी र सगोत्रीहरु भिन्न–भिन्न सम्बन्धहरु हुन् । मूल पुरुषहरुदेखि ७ पुस्तासम्मका भाइबन्धुहरु सपिण्डी हुन् । सामान्यतया सपिण्डीहरुको आशौच (जुठो) १० दिन लाग्ने गर्दछ । त्यस्तै, ८ देखि १४ पुस्तासम्मको भाइबन्धुहरुको सम्बन्ध सोदक हो । जसभित्रका मानिसहरुले जुठो ३ दिन बार्नुपर्दछ । १५ देखि २१ पुस्तासम्मका भाइबन्धुहरुलाई सगोत्री भन्ने गरिन्छ । सामान्यतया सगोत्रीहरुको मृत्युमा अहोरात्र (दिन र रात) मात्रै जुठोबारे पुग्छ ।

शास्त्रका अनुसार बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सूतक शुरु हुन्छ । जन्मदिने आमालाई ३० दिनसम्म सूतक लाग्छ । ३० दिनअघि आमाले पितृकार्य वा देवकार्य एवं भान्साको काम गर्नुहुँदैन । नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० दिन सूतक बार्नुपर्छ तर जुठो लाग्दैन । अरु सामान्य अवस्थामा पनि सपिण्डीहरुलाई १० दिन सूतक लाग्छ ।

डा. भट्टराईका अनुसार हिन्दु संस्कारमा विभिन्न उमेरका मानिसको मृत्युमा जुठोसम्बन्धी निर्णय यस्तो छ –

बच्चाको मृत्युभएमा कति दिन बार्ने ?
– बच्चा गर्भमै मरेमा पनि सूतक वा जुठो लाग्दैन ।
– बच्चा जन्मिएपछि न्वारनअघि नै बच्चाको मृत्यु भएमा स्नान मात्र गरेपछि सबै चोखा हुन्छन् ।
– नामाकरणपछि दाँत नउम्रिँदै बच्चाको मृत्यु भइ अन्तिम संस्कार गरेमा उसको एकदिन जुठो बार्नुपर्छ ।
– दाँत उम्रिएपछि चूडाकर्म नगरुञ्जेल बच्चाको मृत्यु भएमा बाबुआमाले एकदिन जुठो बारे हुन्छ ।
– चूडाकर्म भइसकेपछि व्रतबन्ध अगाडि नै मृत्यु भएमा ३ दिन जुठो बार्नुपर्ने हुन्छ ।
– व्रतबन्धअघि नै छोराको मृत्यु भएमा आमाबाबु र सौतेनी आमालाई तीनरात जुठो लाग्छ ।
– ६ महिनासम्मका छोराहरु मरेमा सपिण्डीहरुले नुहाएमात्रै पुग्छ । ६ महिनादेखि ३ वर्षसम्मको बच्चाको निधनमा सपिण्डीले एकदिन जुठो बार्नुपर्छ । छोरी मरेमा सपिण्डीले एकदिन र बाबुआमाले ३ दिन जुठो बार्नुपर्छ ।
– व्रतबन्धपछि छोराछोरीको मृत्यु भएमा अन्य मानिसको सरह नै नाता अनुसारका मानिसहरुले जुठो बार्नुपर्छ ।

सामान्यतया कसको मृत्युमा कति दिन लाग्छ जुठो ?
– कुनै पनि कन्याको जन्मपछि चूडाकर्म गर्नुपूर्व मृत्युभएमा सपिण्डीहरुले स्नान मात्र गरे पुग्छ ।
– चूडाकर्मपछि वाग्दानपूर्व (बिहे छिन्ने काम) मृत्यु भएमा एक दिन तथा वाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुबै कुलमा ७ पुस्तासम्मका दाजुभाइहरुले तीन दिनसम्म जुठो बार्नुपर्छ ।
– विवाह गरेकी विवाहिताको जुठो उनका पिताको कुलमा ७ पुस्तासम्मका लागि तीन दिन लाग्छ ।
– विवाह गरेर गइसकेकी छोरीले आफ्ना आमाबुबाको जुठो ३ दिन बार्दा हुन्छ भने विवाह नभएकी छोरीले १० दिन जुठो बार्नुपर्छ ।
– विवाहिता दिदी–बहिनी र दाजुभाइहरुले एक आपसमा मृत्यु भएको खण्डमा समान तीन दिन जुठो बार्नुपर्छ ।
– भाउजू–बुहारी, नन्द–आमाजूको परस्परमा जुठो एक दिन लाग्छ ।
– विवाह गरेकी छोरी माईतमा मरेमा दाजुभाइलाई ३ दिन जुठो लाग्छ । पतिको घरमा नै मरेमा काकाले एक दिन, दिदीबहिनीले दाजुभाइसरह जुठो बार्नुपर्दछ ।
– विवाह गरेकी छोरीको १० दिनभित्र मृत्युको खबर सुनेमा ३ दिन र १० दिनपछि सुनेमा एक दिन जुठो बार्नुपर्दछ ।
– गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भाञ्जाभाञ्जी, छोरीका छोराछोरी, आमाका आमाबुबा, पत्नीका आमाबुबा, आफ्नो वा पतिपत्नीका मामा–माइज्यू र छोरीज्वाइँको जुठो ३ दिन लाग्छ ।
–मितको मृत्युमा ३६ घण्टा जुठो बार्नुपर्छ ।
– एउटै आमाका तर, फरक पिताबाट जन्मिएका दिदी–बहिनी एवं दाजुुभाइको जुठो तीन दिन लाग्ने गर्छ । एउटै आमा तर फरक पिताबाट जन्मेका दाजु भाइका कुल र पित्री अलग अलग हुन्छन्। पेटमा अथवा जन्मेर ल्याइएका सन्तानको जहाँबाट ल्याइएको हो उही कुलको हुन जान्छ। पालन पोषण गर्ने पिताको ३ दिन सुतक लाग्छ।
– गुरुकी पत्नी वा गुरुका छोराछोरीको मृत्युमा एक दिन जुठो बार्नुपर्छ ।
– वानप्रस्थी, सन्यासी, र व्रम्हचारीले अरुको जुठो बार्नुपर्दैन । उनीहरुका भाइबन्धुले बारे पनि, नबारे पनि हुन्छ । तर, उनीहरुका छोराछोरीले भने सबै कृत्य गर्नुपर्छ ।
धर्मपुत्रले धर्म बाबुआमा मरेमा ३ दिन र क्रिया नै गर्नुपरेमा १० दिन बार्नुपर्छ ।
–सात पुस्ता (सपिण्डी) भित्र व्रतबन्ध भएका मानिस मरेमा १० दिन जुठो बार्नुपर्दछ ।
– आमा, बुबा र पतिको मृत्यु भएमा एक वर्षसम्म जुठो बार्नुपर्छ ।
– सौतेनी आमाको मृत्यु भएमा ६ महिनासम्म जुठो लाग्ने गर्छ । सौतेनी आमाको १० दिन नै क्रिया बार्नुपर्छ । एक वर्षपछि मरेको घटना सुने पनि ३ दिन क्रिया बार्नुपर्छ ।
– पत्नीको मृत्यु भएमा पतिलाई तीन महिनासम्म जुठो लाग्छ ।
– भाइ र छोराको ४५ दिनसम्म जुठो लाग्ने गर्छ ।
– बाँकी रहेका सबै सपिण्डीहरुको मृत्युमा एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गरेको छ । यो समयमा छोरा–छोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन भन्ने मान्यता छ । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ ।
– विशेष आशौच बाहेक सपिण्डीहरुको मृत्युमा १० दिन जुठो बार्नुपर्दछ ।
– सोदक ९८ देखि १४ पुस्तासम्मका भाइबन्धुहरु० को मृत्युमा ३ दिन जुठो बार्ने गरिन्छ ।
– सगोत्री ९१५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु० को मृत्युमा अहोरात्र (दिन र रात) मात्रै जुठो बार्ने गरिन्छ ।

अन्य कुन अवस्थामा कति दिन जुठो बार्ने ?
– एउटा जुठो नसकिँदै अर्को जुठो थपिएमा नजिकको पुस्ताका आधारमा जुठो बार्नेसम्बन्धी निर्णय गर्नुपर्दछ । जारी जुठो भन्दा नजिकको नाताका मानिसको मृत्यु भएमा पछिको जुठो पुरै बार्नुपर्छ । टाढाको साइनो भएमा पहिलो जुठो सकिँदा नै दुबै सकिन्छ ।
– आमाबुबा वा पतिपत्नीको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच (जुठो) लैजान्छ भन्ने नियम लागु हुँदैन ।
– जन्मको सूतक नसकिँदै जुठो पर्याे भने जुठो १० दिन बार्नुपर्छ ।
– जुठो बारेको दशौं दिनको मध्यरातिसम्म अर्को जुठो थपियो भने थप २ दिन मात्रै जुठो बारे हुन्छ । कुनै–कुनै कुलमा पुरै दिन बार्नुपर्ने उल्लेख भएकाले कुल अनुसारको नियम मान्ने गरिन्छ ।
– अनिक्रान्ता अर्थात् जसको जतिदिन जुठो लाग्ने हो, त्यो समय बितिसकेपछि सुनेको जुठोमा आमाबुबा, पतिपत्नीबाहेक अरुलाई स्नान मात्रै गरे हुन्छ । अरुलाई तोकिए अनुसार नै बार्नुपर्ने हुन्छ ।
– १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिनाभित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले पनि शुद्ध भइन्छ । कुनैपनि सगोत्रीको घरमा बच्चा जन्मिदा आफ्नो घरको पुजाकोठा या मन्दिरमा दियो बालेर पूजा गर्न मिल्छ तर शंख घन्टि बजाउनु हुँदैन । सगोत्रीमा मृत्यु हुदा दियो जलाउन हुन्छ भने अरु नित्य कुनै पनि काम १३ दिन सम्म गर्नु हुदैन भन्ने सस्त्रमा उल्लेख गरिएको छ।

माथि उल्लेख गरिएका गरुड पुराण शास्त्र सम्मत सुतक वा जुठो बार्ने दिनसंख्या सम्बन्धी नियमभन्दा फरक अन्य नियम पालन गर्नु पर्दैन भनेर बुझ्न पर्दछ ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर