‘४० हजार मानिस मर्दा एक्लै थिए घरमा, ४ हजारको शव एक महिनापछि मात्रै भेटियो’
टोकियो – जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ ।
यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत फेला परेका थिए । त्यसमा पनि ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका छन् ।
करिब ४० प्रतिशत मानिसको शव मृत्यु एक दिनभित्रै फेला परेको थियो । जबकी करिब ३ हजार ३९३ जनाको शव एक महिनापछि भेटिएको थियो । बाँकी रहेका १३० जनालाई फेला पर्नुभन्दा अगाडि कसैले पनि ध्यानसम्म पनि दिएका थिएनन् । एनएचकेका अनुसार प्रहरीले यो तथ्यांक एक सरकारी समूहलाई दिइएको छ, जसले बेवारिसे मृत्युबारे जाँच गरिरहेको छ ।
यसवर्षभन्दा पहिले जापानी राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनसन्धानले भनेका थिए, ‘ देशमा ६५ वर्ष या सोभन्दा बढी उमेर समूहका नागरिकको संख्या सन् २०५० सम्ममा १ करोड ८ लाख पुग्न सक्छ ।’ जापानले आफ्नो घट्दो जन्मदर र बढ्दो वृद्ध नागरिकको प्रभावलाई रोक्न वर्षौंदेखि संघर्ष गरिरहेको छ, तर स्थिति व्यवस्थापन गर्न झन्झटिलो हुँदै गइरहेको छ।