Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जिल्ला कारागार लमजुङ एक वर्षदेखि चिकित्सक विहिन

17

जिल्ला कारागार लमजुङमा एक वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य  चेकजाँचमा समस्या भएको छ ।

जिल्ला कारागार लमजुङका कार्यालय प्रमुख कमलपति अधिकारीका अनुसार कारागारमा कार्यरत चिकित्सक राजविर शाह एक वर्ष अघि बारा कलैया सरुवा भएपछि कारागार चिकित्सक विहिन बनेको हो । चिकित्सक हुदाँ हप्ताको एक पटक कारागारका कैदीबन्दीहरुको नियमित रुपमा चेकजाँच गर्ने गरेता पनि हाल चिकित्सक नहुदाँ चेकजाँचमा समस्या भएको उहाँले बताउनुभयोे ।

कारागारले बेसीशहर नगरपालिकासंगको अनुरोध पछि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीले महिनाको एकपटकमात्र चेकजाँच गर्ने गरेको बताउनुभयो । कारागारमा कैदीबन्दीको चेकजाँचका लागि अनिवार्य रुपमा चिकित्सक हुनुपर्ने प्रावधान भएता पनि दरबन्दीको चिकित्सक नभएकाले कारागारमा ल्याउन नसकिएको उहाँको भनाई छ ।

कारागार प्रशासनले नेपाल सरकारसंगको अनुरोधमा केही समय पश्चात् आदिवासी जानजाती कोटाबाट लोक सेवा पास गरेर चिकित्सक आउने बताउनुभयो ।

चिकित्सक हुँदा कारागारमा कम्तीमा पनि हप्ताको एक पटक कैदीबन्दीको प्रेसर, सुगर, रुघा खोकी, दम, ज्वरो, अक्सिजन लेभल लगायतको चेकजाँच हुदै आएको थियो । कारागारले कैदीबन्दीको सामान्य उपचार गर्दै आएता पनि जटिल रोगको उपचार भने व्यक्तिको परिवारद्वारा नै हुने गरेको कारागार कार्यालय प्रमुख कमलपति अधिकारीले बताउनुभयो ।

६० जनाको क्षमता भएको कारागारमा हाल पुरुष तर्फ ४७ जना कैदी र ३७ जना बन्दी रहेका छन् भने महिला तर्फ पाँच जना कैदी र दुई जना बन्दी महिला रहेका छन् । महिला र पुरुष गरि जम्मा ९१ जना कैदीबन्दी कारागारमा रहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर