काठमाडौं, १९ भदौ । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको मृत्यु भएको छ । ५५ जनाभन्दा धेरै घाइते भएको कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उहाँले बताउनुभएको छ ।
धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएको र घाइते भएको बताइएको छ । कतिपय महिलाहरू बलात्कृतसमेत भएको मन्त्री शाबानीले बताउनुभएको छ । जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको थियो । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।