राजु विके, भदौ ५ । तिलोत्तमा नगरपालिका वडा नं. ६, १० नम्बरमा सक्रिय तिलोत्तमा नारी जागरण समूहका सदस्यहरुले वाद्यवादन तालिम पूरा गरेका छन् । उक्त समूहका १६ जनाले वाद्यवादन अन्तर्गत हार्माेनियम र मादल बजाउने तीन महिने तालिम सफलतापूर्वक पूरा गरेका हुन् ।
गत वर्ष २०७९ चैत्र १ गतेदेखि २०८० ज्येष्ठ ३० गतेसम्म तालिम सञ्चालन भएको थियो । उक्त तालिम तिलोत्तमा नगरपालिकाको सहकार्य र रागश्री संगीतालयको व्यवस्थापन मातहतमै दिदीबहिनीहरुमा आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । सोमबार (भदौ ४) तालिममा सहभागी सबै सदस्यहरुलाई रागश्री संगीतालयले प्रमाण–पत्र प्रदान गरेको छ । दुर्गा मन्दिरमा आयोजित एक कार्यक्रमका बीच सुरेश सेन्चुरीले प्रमाण–पत्र प्रदान गरेका थिए ।
प्रमाण पत्र पाउनेहरुमा हार्मोनियमतर्फ माया पंगेनी, प्रतिमा पोख्रेल, धना भण्डारी, कमला भट्टराई र कविता पाठक रहेका छन् भने मादलतर्फ गंगा कुमारी शर्मा, मञ्जु न्यौपाने, प्रिया न्यौपाने, रुपा टन्डन, शान्ता भट्टराई, श्रृजना भुसाल, तुलसा केसी, सिता सापकोटा, रेनु भट्टराई पवित्रा पाठक र अम्बिका तिवारी रहेका छन् ।
यो समूहभन्दा अघि तिलोत्तमा–४ मा सक्रिय दियालो आमा समूहका सदस्यहरुले पनि २०८० साउन १२ देखि २०८० भदौ १२ सम्म एक महिने तालिम लिएर मादल बजाउने सिपको विकास गरेका थिए ।
बुटवल–८, सुख्खानगर स्थित बागेश्वरी संगीताललय मै जान परेन । महिला दिदीबहिनीहरुको सहजताको ख्याल राख्दै रागश्री संगीतालयका संगीत गुरु सुरेश सेन्चुरी भौतिक रुपमा आफै तिलोत्तमा नारी जागरण समूहको कार्यक्षेत्रमै दिनदिनै उपस्थित भएर हार्माेनियम र मादल बजाउने प्रशिक्षण दिएका थिए ।
‘‘सामान्य गृहणीहरुले घर परिवारका सदस्यहरुको ध्यान राख्नुपर्ने, बच्चाबच्चीलाई खाना खुवाएर, तयार पारेर स्कूल पठाउनुपर्ने, स्कूलदेखि आएपछि पुनः नाश्ता पानीको व्यवस्था मिलाउनुपर्ने, स–साना बाबु नानीहरुलाई विद्यालयको होमवर्क गराउनुपर्ने भएको हुँदा उहाँहरुको समयको पूरा सदुउपयोग होस् भनेर मैले उहाँहरु बस्ने ठाउँमै गएर प्रशिक्षण दिएको हो ।’’ संगीत गुरु सेन्चुरीले बताए ।
सेन्चुरीले थप्दै भने–‘‘दत्तचित भएर उहाँहरुले सिक्नुभयो । भजनको धुन हार्माेनियममा बजाउन, त्यस धुनलाई मादलको संगती दिन सक्ने भइसक्नुभयो । प्रशिक्षण दिदा मैले गरेको परिश्रमको यो नै वसुली हो । म खुशी छु, उहाँहरु आफूले आयोजना गरेका कुनै पनि कार्यक्रममा आफै हार्माेनियम र मादल बजाएर सांगेतिक प्रस्तुति दिन सक्नुहुन्छ ।’’
गीत, भजन, टुक्का गाउन, नाच्न जति पनि सक्छौं तर मादल र हार्मोनियम बजाउन नजान्दा कार्यक्रम नै खल्लो हुन्थ्यो । अब हामी आफै बजाउँछौं रमाइलो गर्छाैं, अलमलिनु पर्दैन भन्दै समूहका सदस्हरु खुशी भएको देख्दा आफूले सुखद अनुभूति गरेको पनि सेन्चुरीले बताए ।
वास्तवमा सेन्चुरीले जुन विद्यार्थी वा प्रशिक्षार्थीलाई आफ्नो संरक्षणमा राखेर प्रशिक्षण दिन्छन् ऊ कि त निकै प्रतिभावान भएर निस्किन्छ कि त उसको प्रतिभाले सर्वत्र लोकप्रिय बन्नेगरी मञ्च पाउँछ । यसलाई पारस ढुङ्गासँग तुलना गर्दा अनर्थ नलाग्ला । पारस ढुङ्गाले फलामलाई सुनमा परिणत गरिदिन्छ । बिगत झन्डै ३ दशकदेखिको सांगीतिक यात्राको पछिल्लो चरणमा सेन्चुरी पनि पारस ढुङ्गाकै भूमिकामा छन् ।
टेरिया फौजा मगर (नृत्य), एन्जिला रेग्मी (गायन), अर्जुन कौशल (कम्पोज, एरेन्ज, गायन), चिरञ्जीवी भण्डारी (गायन, कम्पोज), सुजाता पाण्डे (गायन) आदि सयौं मध्ये केही यी व्यक्तित्वहरु हुन् जो संगीत जगतको संस्कृति वा धरोहर बन्न सफल भएका छन् । सेन्चुरीको व्यवस्थापन, संरक्षण वा प्रशिक्षणमा रहेर लोकप्रिय छवि हासिल गर्न सफल भएका व्यक्तित्वहरु हुन् जसको नाम संगीतकै पर्यायवाची बनेको छ आज ।
फलैफलले लादिएको रुखको हांगा जहिले नि नुग्छ भने जस्तै सांगेतिक क्षेत्रमा यतिका योगदान दिइसक्दा पनि सुरेश सेन्चुरी उही सुरुकै सुरेश सेन्चुरी नै छन् । उनमा अहंको भाव वा अभिमान छैन । यही सादगी र सरलभावका साथ आज पनि उनी बुटवल–८ स्थित रागश्री संगीतालय मार्फत् संगीतका विभिन्न विधाहरुमा सांगेतिक जनशक्ति उत्पादन हेतु लागी परेका छन् । बिहान ६ बजेदेखि राति ८ बजेसम्म रागश्री संगीतालयमा विद्यार्थीहरुलाई संगीत सिकाउनु उहाँको दैनिकी नै हो ।