Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

तीजको नाममा विकृति ल्याउँदैछन् कलाकारहरू

38

रुपन्देही, साउन १९ । २०८१ सालको तीज पर्व भदौ महिनामा परेको छ । यस वर्षको तीज आउन अब धेरै दिन बाँकी छैन । तीज नजिकिदै जाँदा महिलाहरु थप उत्साहित र उर्जावान देखिन थाल्दछन् । तीज पर्वको आफ्नै आध्यात्मिक र सांस्कृति महत्व रहे तापनि त्यसलाई उपेक्षा गर्नतिर उद्दत देखिन्छन् घरपरिवार र समाजका खम्बा मानिने केही महिलाहरु । कसैकसैले भन्छन् जमाना परिवर्तन भयो रे । आधुनिक बनिएन भने त प्रगति गरेको अनुभूत नै हुँदैन रे ।

त्यही आधुनिकताको नाममा तीज पर्वको मौलिक महत्वलाई दूषित पार्ने गरी नयाँ रङ्गढङ्ग र चलनचल्तीको विकास गरिनुमा दोषी को छ भन्दै विद्वान र विश्लेषकहरुले प्रश्न तेर्साइरहेका पनि हुन्छन् बेलाबेलामा । तीज पर्वको विकृत स्वरुप देखेर चिन्तित भएका महिलाले विकृति फैलाइरहेका महिलाहरुलाई छाडा प्रवृत्ति नदेखाउन अनुरोध वा चेतावनी दिइरहेको पनि देखिन्छ । आजको समयमा अधिकांश महिलाहरु पार्टी प्यालेस र होटलहरुमा तीज पर्व भन्दै तामसिक खानपिन र तड्किलो भड्किलो पहिरन अनि अश्लिल गीतमा रमाइलो गर्ने कार्यक्रम आयोजन गर्दछन् ।

अनेकन कार्यक्रमहरुमा मासमदिरा समेत प्रयोग गरी तीजको रमाइलो भन्दै सामूहिक फोटाहरु खिची सामाजिक सञ्जालमा साझा गरिएको पाइन्छ । नारीको ठुलो चाड भनेर चिनिने तीज पर्वमा लोग्ने मानिसहरुको घुसपैठ हुनु अर्काे लज्जास्पद पक्ष पनि छँदै छ । तीज पर्वलाई लज्जास्पद रुप दिई प्रस्तुत गर्ने कलाकारहरुको घुइँचो पनि बढ्दो देखिन्छ । अश्लिलताकै आडमा दाम र नाम कमाइन्छ भन्ने सिद्धान्त बोकेका कलाकार र साङ्गीतिक भिडियोका निर्माताहरुले आफ्ना स्वार्थपूर्तिका लागि आध्यात्मिक महत्व बोकेको मौलिक संस्कृतिलाई असरल्ल अवस्थामा पुर्‍याइदिएका छन् । अर्धनग्न महिलाहरुको अभिनय र दुई अर्थ लाग्ने छाडा शब्दहरु राखी बनाइएका गीतसङ्गीतले भोलिका सन्ततिहरुलाई अशोभनीय र अमर्यादित मार्गचित्र कोरिरहेका छन् ।

तीज पर्व वास्तवमा माता पार्वतिले कैलाशपति महादेवलाई पतिरुपमा पाउँ भनी गरेको कठोर र निष्पाप व्रतसँगै सुरुवात भएको मानिन्छ । तीज पर्वको उद्गम वा सुरुवाती आधार आफैँमा पूर्ण पवित्र छ, यसलाई त्यही स्वरुपमा मनाउनु पर्दछ भन्ने कुराको हेक्का राख्नु कलाकार, निर्माता, गीतका कथावस्तुकार तथा निर्देशकहरुका लागि अनिवार्य छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x