Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘तेल भिसा’ निर्माणमा जोडियो सेभेन सीज

16

करिब १२ वर्षपछि निर्देशक शंकर घिमिरे फिल्म ‘तेल भिसा’बाट निर्देशनमा फर्किने भएका छन् । गत साउनमा उनले फिल्मका लागि मुख्य भूमिकामा अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरेका थिए । फिल्ममा उनको दोहोरो भूमिका हुने जनाइएको छ । आगामी फागुन महिनादेखि नेपाल र अमेरिकामा छायांकन हुन लागेको फिल्ममा अन्य कलाकार र प्राविधिक छनोट हुन बाँकी छ ।

यसैबीच, फिल्मको निर्माणमा सेभेन सीज इन्टरटेन्मेन्टले पनि सहकार्य गर्ने भएको छ । सेभेन सीजका तर्फबाट प्याट्रिक सुवेदी (प्रतिक) र वेल्डन क्रियशनका तर्फबाट निर्देशक घिमिरेले अमेरिकामा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहकार्यको घोषणा गरेका हुन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्दै आइरहेको सेभेन सीज पहिलोपटक फिल्म निर्माणमा जोडिएको हो ।

सेभेन सीजले निर्माणमा सहकार्य गर्नुका साथै फिल्मलाई नेपालबाहेक विश्वभर प्रदर्शन गर्ने अधिकार समेत लिएको छ । फिल्मले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने शीर्षकबाट बुझ्न सकिन्छ । छोरा-छोरीले आफ्नो सन्तान भएपछि स्याहार-सुसार गर्न आमा-बुबालाई विदेश बोलाउने चलन छ । छोरा छोरी सन्तान जन्माउने तयारीमा रहेका बेला वा सन्तान जन्माए पछि भर्खर जन्मिएका नाति नातिनालाई तेल लगाई मालिश गर्ने, हुर्काउने जनशक्तिको रुपमा विदेशमै बस्दै गरेका छोराछोरीकहाँ केही महिना गएर बस्ने चलन छ । यसका लागि पनि प्रक्रिया पुर्याएर भिसा लिने गरिन्छ । त्यसलाई व्यंग्यात्मक रुपमा तेल भिसा भनिन्छ । फिल्मले यही विषय उठाउन लागेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर