Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

त्रिगुणले युक्त मानिस र कर्म

37

रुपन्देही, साउन १८ ।
मानव जन्म दुर्लभ मानिन्छ । मानिसको अस्तित्व निर्माणदेखि यसको सञ्चालन र महाप्रयाण विधि–प्रक्रिया निकै जटिल छ । यति जटिल छ कि विज्ञानले पनि भेउ पाउन सकेको छैन । गर्भाशयको फलोपियन ट्यूबमा शुक्राणु र डिम्बको मिलनलाई भ्रूण स्थापनाको कारण मानिएको छ । पुरुष र स्त्री बिच समागमका बेला उनीहरुको मनस्थिति र परिस्थिति कस्तो थियो, महिला र पुरुषमा कस्ता भावहरु थिए, कुन समयमा सम्मिलन भएको थियो, रमाइलोका लागि मात्रै समागम थियो, वंशवृद्धिको उद्देश्यले थियो वा लोकोद्धारको भाव थियो आदि यी विविध पक्षहरुले जन्मिने व्यक्तिको व्यक्तित्व कस्तो रहने भन्ने कुराको निर्धारण गर्दछन् ।

अन्नमय स्थूल शरीरको आफ्नै संरचनागत र कार्यात्मक विशेषताहरु छन् । यसका सीमाहरु पनि आफ्नै किसिमका छन् । सूक्ष्म शरीरका पनि आफ्नै गुणस्वभावहरु छन् । वास्तवमा सूक्ष्म शरीर र स्थूल शरीर मिलेर मानिसको निर्माण हुन्छ । विज्ञानसँग स्थूल शरीरको अधिकतम ज्ञान छ तर सूक्ष्म शरीरलाई अझै भेट्न सकेको छैन । सूक्ष्म शरीरले पुरानो देह त्यागेर नयाँ देह धारण गर्दछ । यस दृष्टिकोणबाट मानिस नश्वर अनि अनश्वर दुबै हो भन्न सकिन्छ ।

जीवनकालमा इन्द्रियहरुको सहयोगले जे जति कर्म मानिसले गर्दछ ती सबै कर्म सँगै लैजान्छ । कर्म र भाव मिल्यो भने त्यसले निश्चित प्रभाव निम्त्याउँछ । कर्मको प्रभाव तुरुन्त देखा नपर्न सक्छ । कर्मको प्रभाव यति बलिष्ठ हुन्छ कि यसले एक घण्टा, एक दिन, एक साता, एक महिना, एक वर्ष, एक जन्म वा दस जन्मपछि अथवा सयौँ पटकको जन्ममा आफ्नो रुप प्रकट गर्दछ । अर्थात् व्यक्तिद्वारा गरिएका कर्मले अनन्तकालसम्म पिछा छोड्दैन । तबसम्म पिछा छोड्दैन जबसम्म त्यस कर्मको फल जीवले भोग्दैन । कर्मरुपमा रुपान्तरित एकएक सेकन्ड, एकएक पैसा र एकएक क्रियाको हिसाब कालचक्रले अवश्य गर्दछ । यसर्थमा मानिस अनश्वर हो र शारीरिक विघटनको अर्थमा नश्वर पनि हो । जसको जन्म हुन्छ त्यो महाप्रयाणलाई प्राप्त पनि हुन्छ । अन्नमय कोशहरुले बनेको शरीर मिति पुगेकोपछि एकदिन विघटन हुन्छ । जसको नासो हो उसैलाई यो स्थूल शरीर फिर्ता हुन्छ । अग्नी, जल, वायु, पृथ्वी र आकाशले आआफ्ना तत्वहरु मानिसबाट फिर्ता लिन्छन् । किनकि यिनै पाँच तत्वहरुबाट शरीर निर्मित भएको हुन्छ । मानिसको शरीरलाई पञ्चभौतिक शरीर पनि भनिन्छ । पञ्चभूतहरु रजो, तमो र सत्व गुणले युक्त हुन्छन् । त्यसैले मानिसमा पनि यिनै तीन गुणहरुको उपस्थिति रहन्छ । प्राणहीन देहलाई जति छिटो घाट लैजाऔँ भन्छन् । यसको अर्थ हो मानिसलाई स्वार्थ पूरा गर्न नसक्ने देहमा रुचि नै छैन । मानिसका भावहरु नै हुन् जुन सम्बन्धका रुपमा विचरण गरिरहन्छन् । भाव विभिन्न परिस्थितिमा परिवर्तन भइरहन्छ ।
आत्मा, परामात्मा र मायाको भेद जान्ने, नामजपमा आस्था राख्ने, सात्विक आचरणले युक्त भएकालाई सत्वगुणी भनिन्छ । आफ्नो एक पछि अर्काे इच्छा पूरा गर्न चाहने, इच्छा पूरा भए पनि सन्तोष प्राप्त नगर्ने, पहिलो इच्छा पूरा गरेर फेरि अर्काे इच्छा पूरा गर्नतिर लाग्ने, आफ्नो प्रतीभा, धनसम्पत्ति, बलबुद्धिको घमण्ड गर्ने, आडम्बर देखाउने, जे गरेको छु मैले आफ्नै सामथ्र्यले गरेको छु भन्ने भावमा जिउने र बाहिरी श्रृङ्गारपटारसहितका भौतिक वस्तुहरुको भोगमा रुचि राख्ने व्यक्ति रजोगुणी कहलिन्छ ।

त्यसैगरी आलस्ययुक्त, निद्रालु, अकर्मण्यताले भरिएको र खानपिनमा शुद्धता (सात्विकता) नराख्ने अर्थात् मांसमदिरा जे पायो त्यो भक्षण गर्ने, बिना कारण झट्ट रिसाइहाल्ने, सत्सङ्गमा विश्वास नराख्ने, काटमारमा उत्रिने, समाजीकरणको अभाव भएका व्यक्तिलाई तमोगुणी मानिन्छ । यद्यपि यी सबै गुण मानिसका लागि महत्वपूर्ण छन् । तर कुनै एक गुणको मात्रै प्रधानता कहिलकाहीँ व्यक्तिका लागि हानिकर पनि हुन सक्छ । लुकेर, लुकाएर गोप्य रुपमा मैले कर्म गरेको छु, म सुरक्षित छु भन्ने व्यक्तिको आभास हुन सक्छ । भौतिक संसारमा त्यो रहस्य नै रहला, कसैले थाहा नपाउला तर सृष्टिका नियन्ताका अगाडि गोप्य केही छैन ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x