Sat2024 July 27
२०८१ साउन १२, शनिबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

44

काठमाडौं । लामो रस्साकस्सीपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पहिलो पटक खुला प्रतिस्पर्धाका आधारमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । बराल त्रिविका २० औँ उपकुलपति हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई अध्यक्ष रहेको छनोट समितिको सिफारिसपछि उनलाई बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति नियुक्त गरेका हुन्। उनी सिफारिसको दोस्रो नम्बरमा थिए। बरालसँगै प्रा.डा. चित्रबहादुर बुढाथोकी र टंकनाथ धमला पनि सिफारिसमा परेका थिए। बरालले ७६, बुढाथोकीले ७८ र धमलाले ७५ अंक प्राप्त गरेका थिए ।पहिलो नम्बरका बुढाथोकीलाई छोडेर प्रधानमन्त्री दाहालले बराललाई नियुक्त गरेका हुन् ।

‘गोल्ड मेडलिस्ट’ बुढाथोकीलाई पछि पार्दै बराल उपकुलपति बन्न सफल भएका हुन्। बुढाथोकी त्रिविको सन् १९८९ ब्याचका टपर हुन्। उनले चान्सलर गोल्ड मेडल पनि पाएका थिए। जर्मनीबाट पीएचडी गरेका बुढाथोकी जर्मन एकेडेमिक एक्सेन्ज सर्भेस र एभीएचबाट फेलोसिप पाएका वैज्ञानिक हुन्।

बराल २०१४ सालमा पाल्पामा जन्मिएका हुन् । २०३९ देखि महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बरालसँग पोखरा विश्वविद्यालयको उपकुलपति रहेर काम गरेको अनुभव छ ।

त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आएका उनी २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।

२०५५ सालमा भारतको दिल्ली युनिभर्सिटीबाट विद्यावारिधी (पीएचडी) गरेका उनले विश्व बैंकको हायर एजुकेसन नामक प्रोजेक्टमा कन्सल्टेन्टका रुपमा का गर्ने मौका पाएका थिए । यसैगरी, एसियन डेभलपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएरसमेत काम गरेको अनुभव उनीसँग छ ।

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड सदस्यसमेत रहेका बरालसँग त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरेको अनुभव छ । केही समय अमेरिका र चीनमा समेत अध्यापन पेसामा सक्रिय रहेका प्रा.डा. बराल २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भएका थिए । तर, त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई अध्यापन गर्दै आइरहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर