Sat2024 July 27
२०८१ साउन १२, शनिबार

त्रिविअन्तर्गतका १६ क्याम्पसको सम्बन्धन खारेज

17

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ। ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो।

गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो। सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन गरेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए । ‘विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएका छन्, दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ। हाल ३२ वटा क्याम्पस गाभिएर १६ वटा बनेपछि १६ वटा क्याम्पस खारेज भए,’ उनले भने।

निर्देशक गौतमले समायोजन भएपछि उनीहरूको व्यवस्थापन पनि सहज भएको तथा विद्यार्थी संख्या बढेको बताए । यसअघि विश्वविद्यालय अनुदान आयोगले मर्ज गर्नेबारे अध्ययन पनि थियो । ०७९ मंसिरमा गरिएको अध्ययनअनुसार देशभर सयभन्दा कम विद्यार्थी भर्ना रहेका क्याम्पसको संख्या धेरै पाइएको थियो । अध्ययनमा दुई सय १८ सामुदायिक, तीन सय निजी र २१ आंगिक क्याम्पस गरी पाँच सय ३९ क्याम्पसमा विद्यार्थी संख्या सयजनाभन्दा कम देखिएको थियो । ती क्याम्पसले विद्यालय खर्च व्यवस्थापनसमेत गर्न नसकेको अध्ययनले देखाएको थियो ।

सरकारी तथ्यांकअनुसार हाल देशभरिका विभिन्न क्याम्पसमा कुल चार लाख ६२ हजार विद्यार्थी उच्च शिक्षा हासिलका क्रममा छन् । तर, विदेश जाने विद्यार्थीको संख्या बढेसँगै क्याम्पसहरूमा विद्यार्थी घटेपछि त्रिविले मर्जर प्रक्रिया अघि बढाएको थियो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगमा ३२ क्याम्पसले मर्जरका लागि निवेदन दिएका थिए । उनीहरूको विधि–प्रक्रिया मिलेकाले मर्ज गरिएको हो ।

अझै पनि धेरै क्याम्पस आर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशयी रहेकाले त्रिविले मर्ज हुन चाहने क्याम्पसलाई पुनः थप समय दिएर गाभ्ने योजना पनि अघि सारेको छ । यसअघि गाभिनका लागि असार मसान्तसम्म निवेदन र विवरण पेस गर्न २९ जेठमा सूचना जारी गरेको थियो । त्यसपछि मर्जर प्रक्रियामा सरिक हुन कलेजले विवरण पठाउन थालेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर