Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीमा समस्या

18

मुस्ताङको सदरमुकाममा रहेको जिल्ला अस्पतालको क्षमता २५ शैय्या को छ । स्वास्थ्यकर्मीको दरबन्दी १८ जनाको छ तर अहिले मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा ६ जना जनशक्ति मात्रै कार्यरत रहेका छन् ।

मुस्ताङ जिल्ला दुर्गम भएकै कारण यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारी समेत नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख मायाँ गुरुङ बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पतालको १५ शैय्याको क्षमता २०७७ मा २५ शैय्याको बनाइएको थियो । तर, नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न संधै मुस्कील हुने गरेको उहाँको भनाई छ ।

अस्पतालको भौतिक तथा स्वास्थ्य पूर्वाधारहरूमा आवश्यकता अनुसार सुधारोन्मुख रहेतापनि अस्पतालमा चिकित्सक नहुँदा नागरिकलाई यसोचे जस्तो सेवा प्रदान गर्न सकिएको छैन । प्रदेशका मन्त्री तथा सम्बन्धित निकायका सबैलाई जानकारी गराइएको छ, तरपनि हाम्रो मागको सुनुवाइ हुन सकेन अध्यक्ष गुरुङ सुनाउनुहुन्छ ।

नवौं तहको एक जना मेडिकल सुपरीटेण्डेन्ट दरबन्दी रहेको अस्पतालमा उक्त पद रिक्त छ । हाल मेडिकल अधिकृतले निमित्त मेडिकल सुपरीटेण्डेन्टका रुपमा काम गर्दै आउनुभएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘थोरै जनशक्ति छ तै पनि सक्दो सेवा दिइरहनुभएको छ ।’

जिल्ला समन्वय तथा स्थानीय तहको समेत तदारुकता सहित बैठक बसेर प्रदेशमा डेलिगेसन जाने भन्ने भएको छ–घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले भन्नुभयो । मान्छे नै थोरै छन् कसरी सेवा दिन सक्छन् तै पनि भएकाले दिएको सेवा राम्रो छ, राज्यले हामीलाई अस्पताल मात्र दिएर भएन जनशक्ति पनि त दिन पर्‍याे उहाँको भनाई छ ।

एउटा दरबन्दी भएको ल्याब टेक्नीसियनको पद खाली छ भने, अहेबको पनि एउटा पद रिक्त रहेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.तेजस नेपालले बताउनुभयो । दुई जनाको दरबन्दी रहेको अनमी दुवै पद खाली छ । ‘अहिलेको अवस्थामा भन्नुपर्दा दरबन्दीका जम्मा ६ जना मात्रै कार्यरत रहेका छौं’– उहाँले भन्नुभो ।

मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया, भेन्टिलेटर, भिडियो एक्सरे, एक्सरे र ल्याबको सबै स्वास्थ्य पूर्वाधारहरू रहेका छन् । तर, स्वास्थ्य उपकरण प्रयोग गर्ने स्वास्थ्य चिकित्सक र टेक्निसियन नहुँदा मुस्ताङ अस्पतालमा स्थानीय नागरिकले पाउनु पर्ने सुविधा पाउन सकेका छैनन् । प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङमा अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसक्दा जनताले सास्ती व्यहोर्न बाध्य छन् ।

१५ शैय्याबाट २५ शैय्यामा बढोत्तरी गरिएको मुस्ताङ अस्पतालको भवन निर्माणधीन अवस्थामा छ । भदौ महिना देखि अस्पतालको शल्यक्रिया, भिडियो एक्सरे सुविधा बन्द भएको छ ।

शल्यक्रिया सेवा सुविधा दिन थालिएको अस्पतालमा एमडीजीपी चिकित्सक नहुँदा सेवा पाउन नसकेको स्थानीयको भनाई छ । अस्पतालबाट एमडीजीपी चिकित्सक डा. कुन्दन कर्ण र मुखिया घलेको सरुवा भए पछि नयाँ एमडीजीपी चिकित्सक आएका छैनन् । पटक–पटक प्रदेश सरकार र सरोकारवालालार्ई लिखित र मौखिक ध्यानार्कषण गराए पनि चिकित्सक आउन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट  तेजेश नेपालले बताउनुभयो ।

चिकित्सक, अहेब, प्यारामेडिसियन, अनमी र ल्याब टेक्निसियन अभाव भए पनि बैकल्पीक रुपमा भैरहेकैले सेवा दिन प्रयास गरेको उहाँको भनाई छ । मुस्ताङ अस्पतालबाट बिरामीलाई रिफर गर्दापनि कम्तिमा पनि पोखरा पठाउनु पर्ने हुन्छ तर त्यहाँ सम्म पुग्न पनि सक्छ सक्दैन भन्ने खालको एम्बुलेन्स मात्रै आँफुहरुसंग भएको नेपालले बताउनुभयो ।

 

अमृतप्रसाद पौडेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर