सम्पादकीय
मानव जीवनका महत्वपूर्ण आवश्यकताहरुको उपलब्धि वा परिपूर्तिलाई सम्बोधन गर्नका लागि केही शब्दहरु प्रचलनमा ल्याइएका छन् । ती बहुप्रचलित शब्द वृद्धि, विकास, प्रगति, सफलता र पूर्णता हुन् । वृद्धि, विकास, प्रगति, सफलता र पूर्णता नचाहने वा मन नपर्ने व्यक्ति सायद नै कोही होला । यी शब्दहरुको ज्ञान नभए पनि यिनै आवश्यकता प्राप्तिका लागि मानिस भ्रूणावस्थादेखि जन्मसम्म वा जन्मदेखि मृत्युपर्यन्त गतिशील बनिरहेको हुन्छ । आर्थिक विकास, सामाजिक विकास, आध्यात्मिक विकास, शैक्षिक विकास, भौतिक विकास, पारिवारिक विकास, सम्बन्धको विकास, वर्गीय वा वैयक्तिक विकासमध्ये कुनै न कुनै विकास मानिसलाई चाहिएकै छ । नेताहरूले यिनै विकासमध्ये कुनै एकलाई जनतासामु प्रस्ताव र लक्ष्यस्वरुप पस्केर राजनीति पनि गरेकै हुन्छन् ।
जमिनदारहरुको समुदायमा गई भाषण गर्दा उनीहरूका साना ठुला समस्याको निराकरण र समाधानलाई जोड दिन्छन् । जमिनदारहरूबाटै शोषित बनेका गरिब विपन्नको समुदायमा गई भाषण गर्दा उनीहरुको जातीय मुक्ति र आर्थिक रुपान्तरणका लागि क्रान्तिका सपना बाँड्छन् । सकारात्मक परिवर्तन ल्याएरै देखाउँछौँ भन्दै जहाँ गयो त्यहीँ फ्लाक्छन् । कुर्सीसम्म पुग्छन्, तर काम गर्नेबेलामा सम्पन्नशालीलाई झन् सुविधायुक्त र विपन्नलाई थप कमजोर बनाउने गरी नीति तथा कानुन तर्जुमा गर्छन् । खुला आकाशमुनि चर्काे घाम, भोक, तिर्खा सहँदै जमिनमा बसेर घण्टौँसम्म यिनीहरुका भाषण सुन्ने र लामबद्ध भई मतदान गरेर चुनावमा जिताउने सर्वहाराका लागि होइन, आलिशान वातानुकूलित घरभित्र बस्ने र चिल्ला गाडी चढेर हिँड्ने सम्पन्नशालीहरुलाई खुसी पार्न सत्ता, शक्ति र राज्यको ढुकुटीको दुरउपयोग गर्छन् नेताहरू । गणिका पनि ग्राहकसँग समय बिताउँदासम्म पूर्ण इमानदार भइ प्रस्तुत हुन्छिन् । परन्तु नेताहरुसँग इमानदारिता भन्ने कुनै चिजवस्तु नै नदेखिएको स्थिति छ । चुनावका बेला ठुलो धनराशि पाइन्छ भनी नेताहरू जहिलेनि सम्पन्नशालीकै पक्षमा पर्दापछाडि काम गरिरहेका हुन्छन् । आफ्ना स्वार्थमैत्री विविध आशा, अपेक्षा र चाख बोकेर जनता नेताका पछि लाग्न छोड्दैनन् । कार्यकर्ताका रुपमा, सदस्यका रुपमा, मतदाता वा भाडाका टट्टुका रुपमा ।
गरिबी उस्तै छ, स्वास्थ्य र शैक्षिक समस्या उस्तै छन् । बेरोजगारीको जाँतोमा युवायुवति पिल्सिरहनु परेकै छ । विदेशिन परेकै छ । हत्या, बलात्कार रोकिएको छैन । पीडितहरूले न्याय पाउन बसौँसम्म कुर्नुपरेको छ । जातिवैर आज पनि जीवितै छ । दुर्गममा सुविधायुक्त सडक, पूल इत्यादि निर्माण हुन सकेका छैनन् । सुगम क्षेत्रमा मात्रै सडक विस्तारीकरणले प्राथमिकता पाइरहने परम्परा कायम भएको छ । पार्टी नजिकका कार्यकर्ता वा सदस्यहरू ठुला ठुला सरकारी ठेक्काका आयोजनामा ठेकेदारका रुपमा प्रवेश गर्ने क्रम बढ्दो छ । राजनीतिक पहुँचभन्दा बाहिरका सर्वहारा जनता चाहिँ के खाने होला, के लाउने होला, कसरी बाँच्ने होला, छोराछोरीलाई कसरी पढाउने होला भन्ने प्रश्नहरुको उत्तर खोज्दै अवसादै अवसादमा जीवन बिताउन बाध्य छन् । मानसिक तनाव र कुण्ठाले विभिन्न दीर्घ रोगहरुको सिर्जना गर्दछ । रोगी जनता देशको विकासमा सहायक होइन बाधक बन्छन् भन्ने कुरा नै सायद सुखसयलमा बाँचिरहेका नेताहरुलाई थाहा छैन ।
डाइबिटिज, क्यान्सर, उच्चरक्तचाप, मस्तिष्कघात, मृगौला फेल जस्ता दीर्घ रोगहरु विषादियुक्त खाद्यान्न र फास्ट फूडका कारण देश भित्र बढ्दो छ । कालोबजारी र विषादियुक्त खाद्यान्नमाथि सरकारको लगाम छैन । आयातित सागसब्जी र फलफूलमा प्रयोग भएका विषादिको परिमाण जाँच्ने हैसियतसम्म सरकारले राख्दैन ।
जनतालाई दिगो विकास दिन सक्ने काम कुनै दलको कुनै सरकारले आजसम्म गर्न सकेको छैन । नागरिकहरुले यो देशमा जनताको दुःखमा साथ दिने सरकार पनि छ भन्ने कुराको अनुभूति लिन पाएकै छैनन् । जुन सरकार आयो केही महिनामै ढलिजाने भयो । फेरि उही विश्वासको मत । फेरि उही गठबन्धनको सरकार । फेरि उही सांसद किनबेचको चलखेल । फेरि उही पार्टी फुटाउने प्रतिशोधको जाल झेल । सत्ता कसरी जोगाउने वा सत्तामा कसरी टिकिरहने भन्नका लागि राजनीतिक समीकरण मिलाउन सम्पूर्ण ऊर्जा खर्चिरहेका नेताहरूसँग देश र जनताको हितका लागि एकैछिन सोच्ने र काम गर्ने फुर्सद नभएको अवस्थामा यो मुलुकमा दिगो विकासको नीँव राख्ने कसले हो ? नेपाललाई विकसित राष्ट्रका रुपमा चिनाउने कसले हो ? अल्पविकसित देशका रुपमा हाम्रो नेपाल विश्वसमुदायमाझ कहिलेसम्म चिनिइरहने हो ? बुढा नेताहरुले सत्ता चलाउने, तन्नेरीहरु विदेश पलायन गर्ने कहिलेसम्म ? कृषिप्रधान यो देशमा कृषि क्षेत्र नै अलपत्र कहिलेसम्म परिरहने हो ? करोडौँको ठेक्कामा लाखौँको कमिशनखोरी बन्द हुने कहिले हो ?
जनताका प्राथमिक आवश्यकता र दिगो विकासका कार्यलाई थाति राखेर निर्वाचन तथा उपनिर्वाचनका नाममा अर्बाैँको बजेट लाग्ने खर्चिलो राजनीति बन्द गरिनुपर्दछ ।
बजेट झार्ने, कार्यकाल टार्ने, कार्यकर्ताहरू पाल्ने र भ्रष्टाचारको रोग फैलाई नेपाल आमालाई गाल्ने राजनीति अब बन्द गरिनुपर्दछ ।