Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

दुर्गाद्वारा लिखित सगुनको लोकार्पण

16
पुरुषोत्तम पाण्डेय
May be an image of 8 people, banner, temple, dais, office and text
मङ्सिर–२३, बुटवल ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा साहित्यकार दुर्गा थापा मगरको पहिलो कृति सगुन कविता सङ्ग्रहको लोकार्पण भएको छ ।
शास्त्रीय छन्दमा लेखिएका ७० वटा कविता समावेश गरिएको उक्त कविता सङ्ग्रहमा संस्कृति, प्रकृति, देशप्रेम, कर्म, कला, इतिहास, राजनीति लगायत युगीन विषयवस्तुलाई समेटिएको छ । परिष्कृत र सुललित भाषाशैलीमा लेखिएका कवितामा यथास्थिति भन्दा अग्रगामी निकासको खोजी गरिएको छ भने छब्बिसओटा छन्दको प्रयोग गरिएको छ ।
कविता सङ्ग्रहको समीक्षा गर्दै कवि तथा समीक्षक कविराज पाैडेलले कृति छन्दको प्रयोग र भावका दृष्टिकोणले उत्कृष्ट रहेको र युगीन परिवर्तन र समाजको यथार्थ चित्रण गर्न सफल भएको बताउनुभयो ।
May be an image of 4 people and text
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ प्रा.डा. देवी नेपालले दुर्गाका कविता युगबोध र गहन भाव प्रस्तुत गरी समाजसम्म पुग्न सफल भएको र यसलाई आगामी दिनमा अझ उचाइमा लैजान प्रशंसा मात्र ग्रहण नगरी आलोचनालाई पनि सहन सक्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले छन्द कवितालाई स्तुति, प्रशस्ती र भजनमा परिणत गर्न नहुने बताउनुभयो भने सम्पत्ति दाजुभाइमा बाँड्नु परे पनि कृति नामसारी नहुने भएकाले कीर्ति राख्न उत्कृष्ट काव्यकृति रचना गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानकी सहसचिव सुमित्रा रानाको सभाध्यक्षता, उपाध्यक्ष कृष्ण गाउँलेको स्वागत मन्तव्य, विजय सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साझा प्रकाशनका लबप्रसाद भण्डारी, साहित्यकार ऋषिराम भुसाल, गिरी श्रीस, रुद्र ज्ञवाली, प्राज्ञ बूँद राना, जङ्गबहादुर शाह, गोपाल सन्जेल, राजु अर्याल, जनजागरण महिला समूहकी अध्यक्ष मञ्जु खड्का, ठगबहादुर दर्लामी, धनबहादुर थापा, वेदप्रसाद पन्थ, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने रन्जु घिमिरे, सञ्जय घिमिरे, यज्ञलाल सुवेदी, माया उपाध्याय, टीका कुमारी भट्टराई, पृशा पाण्डे लगायतले कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानले भाषा, कला साहित्य र संस्कृतिको क्षेत्रमा रचनात्मक र सिर्जनात्मक कार्य गर्दै साहित्यकार, कलाकार, चित्रकार, मूर्तिकार र संस्कृतिविद्सहितको रुपन्देही स्रष्टाकोशसमेत प्रकाशित गरेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर