Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुर्गा प्रसाईको संघीय लोकतान्त्रिक गणतन्त्र फ्याँक्न थालिएको महाअभियान नचर्किदै अस्तायो

16

काठमाडौं । वर्तमान व्यवस्था ढाल्ने लक्ष्यका साथ दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ केही क्षणको मात्र आँधीबेहरी सावित भएको छ । सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् ।

मंसिर ७ मा बल्खुमा ठूला दलहरूलाई नै चुनौती दिनेगरी उनले आन्दोलनको सुरुआत गरेका थिए । तीनकुनेमा एमालेनिकट युवा संघको जनप्रदर्शनलाई समेत ओझेलमा पार्ने गरी प्रसाईंले आफ्नो शक्ति प्रदर्शन गरे । उनले अब दिनहुँ काठमाडौंमा जनप्रदर्शन हुने घोषणा गरेका थिए । तर, प्रदर्शनमा उल्लेख्य मानिसहरु उपस्थित नभएपछि प्रसाईं रणनीति बदल्न बाध्य भएका छन् ।

पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुने गर्ने भनिएको जनप्रदर्शन सफल भएन । प्रसाईंलाई घरमै नजरबन्द गरेर  प्रहरीले तीनकुने आउने उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलियो । त्यहाँ एकैपटक ठूलो भिड जुटाउन नसक्दा प्रहरीलाई नियन्त्रण गर्न सहज भएको थियो ।

हिजो सिफलमा कार्यक्रम गरेर प्रसाईंले स्वयंले सम्बोधन गरे । तर, उपस्थितिको संख्या न्यून थियो । आफ्नै शैलीमा केहीबेर बोलेर प्रसाईं निस्किए । आज भक्तपुरमा मोटरसाइकल र्‍याली र प्रसाईंकै निवासमा सभा गर्ने भनिएको थियो । तर, यो कार्यक्रम स्थगित गरिएको छ । प्रसाईं अभियानकै नाममा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भइरहेका छन् । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्य आफूहरूको आन्दोलन नसेलाएको दाबी गर्छन् ।

उनले भने, ‘भ्यालीबाहिरबाट आएका मान्छेहरु अब विस्तारै फर्किन्छन् । तीन दिन लगातार कार्यक्रमम गरेका हौं । बाहिरका मान्छेलाई सधैं यहाँ गाह्रो हुन्छ । आजसम्म कार्यक्रम स्थगित गरेका छैनौं । निरन्तर चल्छ ।’ उनले आन्दोलन प्रभावकारी नहुनुमा पूर्वराजा ज्ञानेन्द्रको मौनताप्रति ईंगित गरे । आन्दोलनमा आएकाहरू मात्रै नभएर नेपाली जनतामा पनि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने भावना बलियो भए पनि पूर्वराजा आफैं नखुलेकोमा उनको असन्तुष्टि थियो ।

मान्डव्यले भने, ‘यो कुरा उठेको बेलामा झापामा पूर्वराजाबाट केही सम्बोधन होस् भन्ने चाहना थियो । राप्रपाले लगेको भनिएको छ । तर, त्यहाँ राजालाई आफ्नो तरिकाले चलाइयो । राजतन्त्रको पक्षमा त्यत्रो आन्दोलन गर्‍यो । कति थुनिए । आन्दोलनको कारणले भन्दा पनि राजसंस्थाको पक्षमा कुरा उठाएकाहरू थुनिएका हुन् । केही राजावादी साथीहरुलाई मुद्दा नै चलाइएको अवस्था छ ।’ आफूहरूको आन्दोलनमा सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले प्रस्तुत हुँदा अलिक फितलो भएको स्वीकार गरे ।

प्रवक्ता माण्डव्य भन्छन्, ‘हाम्रो आन्दोलनमा चाहीँ कोही राजतन्त्रको एजेण्डा बोक्ने, कोही अवस्था परिवर्तन भन्ने, कोही ऋण मिनाहा भन्ने खालका आए । यो अभियानमा सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले आए । त्यसरी आन्दोलन हुँदैन । त्यसैले आन्दोलनको खाका परिवर्तन गराउनुपर्ने भएकाले हामीले थोरै रेस्ट गरेका छौं ।’

अब आन्दोलनको मोडालिटी परिवर्तन गरेर जिल्ला केन्द्रित हुने उनले जिकिर गरे । उनले भने, ‘आन्दोलन अब जिल्ला केन्द्रित हुन्छ । काठमाडौंमा ल्याएर आन्दोलन गर्ने कुरा सधैं सम्भव नहुने देखियो । जिल्ला-जिल्लाबाटै आन्दोलन गरेर सबैलाई सचेत बनाउनुपर्ने भयो ।’ प्रसाईंको आन्दोलनमा सहभागी हुनका लागि बाहिरबाट आएकाहरूलाई उनैको बन्दै गरेको घरमा बस्ने र खाने व्यवस्था गरिएको छ । केहीलाई पार्टी प्यालेस बुक गरेर राखिएको छ ।

उनले पूर्वराजा ज्ञानेन्द्रप्रति असन्तुष्टि पोख्दै भने, ‘उहाँको यो रेस्पोन्सेले त कुनै पनि आन्दोलन टिक्दैन । उहाँ सडकमा आउनु पर्दैन, तर उहाँले अस्तिको आन्दोलनलाई पोजेटिभ सन्देश त दिन सक्नुहुन्थ्यो नि । उहाँले कहीँ कतैको आन्दोलनलाई पनि सम्बोधन गरिएको सुनिएन ।’

उनले पूर्वराजा ज्ञानेन्द्रको भूमिकाले आफ्नो हातमा शासन लिन चाहन्छन् कि चाहँदैन ? भन्ने प्रश्न खडा गरेको उल्लेख गरे । मान्डव्यले अब राजावादीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा राप्रपासँग पनि कुराकानी भइरहेको बताए । उनले थपे, ‘राप्रपासहित अन्य साना दल र राष्ट्र राष्ट्रियतालाई माया गर्ने बौद्धिक वर्गलाई पनि हामी सँगै लिएर अघि बढ्छौं ।’

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर