Sat2024 July 27
२०८१ साउन १२, शनिबार

देवको कीर्तिमानी शतकमा युएईलाई विशाल लक्ष्य

19

काठमाडौं – कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो ।

नेपालका देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । उनको यो यू१९ करिअरको तेस्रो शतक हो । यो शतकसँगै उनी नेपालबाट यू१९ मा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् ।

यसअघि यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रन बनाएका थिए । गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध उनले १ सय २५ रन बनाएका थिए ।

यू१९ मा अर्जुन कुमालले दुई शतक बनाएका छन् । अन्य कुनैपनि नेपाली ब्याटरले यू१९ मा दुई शतक हानेका छैनन् । आजको खेलमा ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए ।

कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।

दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । पाँचौं विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए ।

यस खेलमा खेल्ने मौका पाएका विकेटकिपर उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे । हेमन्त धामी ७ र विशाल विक्रम केसी ३ रनमा आउट भए । दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे ।

युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर