असोज ७, रुपन्देही । हामीले स्वतन्त्रता खोज्यौं, राणाशासनलाई फाल्यौं, पुगेन , पंचायती व्यवस्था फाल्यौं, बहुदलीय व्यवस्था ल्यायौं, त्यसलेनि पुगेन । १० वर्षे जनयुद्ध रोज्यौं, राजा फाल्यौं, संविधान सभा चुनाव हुँदै गणतन्त्र ल्यायौं, यसले पनि झनै पुगेन ।
राणा शासनको निरङ्कुशताबाट परिवर्तन हुँदै हुँदै लोकतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा गणतन्त्र आफैमा गलगाँडतन्त्र प्रमाणित भयो । न नेपालमा समृद्धि आयो, न नेपालीहरु सुखी नै भए । बन्यो त केवल नेता, कार्यकर्ता र आफन्तले कमाइ खाने भाँडो र रमाइजाने ठाउँ।
आज भक्तपुरमा राजा ज्ञानेद्र शाहको भ्रमणको जुलुस हेर्दा देशको आशाको केन्द्रको रुपमा ज्ञानेन्द्र शाहलाई हेरिदै छ भन्ने स्पष्ट संकेत हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । राजा आउ देश बचाउ भन्दै लाखौ जनता भक्तपुरको सडकमा उत्रिएका थिए । नेताहरुको आशा र भरभरोसा गर्न जनताले छाडी सकेका छन् भन्ने कुराको पुष्टि गरिरहेको छ हाल देशका विभिन्न भागमा देखिएको जनाक्रोशको परिदृश्यले । अब पनि नेताको आँखा नखुले कहिलै नखुल्ने प्रष्ट हुन्छ ।
राजा न आउला भन्न सकिन्न, यस्ता इतिहास दोहोरिएका केहि देशहरु छन्। भूपू राष्ट्रपति उपराष्ट्रपति र प्रतिनिधिरुपी सयौं राजा पाल्नुभन्दा एक राजा नै उपयुक्त हुने जनादेश अब छिटै आउने देखिन्छ । हुन त ज्ञानेन्द्र राजा बन्दैमा सबै सुधार हुन्छ, सप्रिन्छ भन्ने कुराको पनि ग्यारेन्टी त छैन । तर नेताहरुको लुटतन्त्रले गणतन्त्रात्मक व्यवस्था परिवर्तनलाई अनिवार्यतामा पारेको छ ।