Sat2024 July 27
२०८१ साउन १२, शनिबार

द्वन्द्वपीडितको सम्मान र सम्झनामा दुई दिने राष्ट्रिय स्मृति सम्मेलन सुरु

21

ललितपुर । द्वन्द्वपीडितको सम्मान र सम्झनामा प्रथम पटक दुई दिने राष्ट्रिय स्मृति सम्मेलन सुरु भएको छ । द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूको स्मृति गर्दै उनीहरूको विगतका कथा र योगदानको भविष्यमा कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रथम राष्ट्रिय स्मृति सम्मेलन ०८० मङ्सिर १३ गतेदेखि ललितपुरमा सुरु भएको हो । इन्सेक लगायत १८ ओटा सङ्घ संस्थाको आयोजना र राष्ट्रिय स्मृति सञ्जालको संयोजनमा आयोजित कार्यक्रम मंसिर १३ गतेबाट सुरु भएको छ । विभिन्न शिर्षकमा नौ ओटा सत्र मंसिर १४ गतेसम्म सञ्चालन हुने छन् ।

पहिलो दिनको कार्यक्रममा बोल्दै स्मृति सम्मेलनका संयोजक डा. रामकुमार भण्डारीले तत्कालीन सशस्त्र द्वन्द्वमा अपराध गर्नेहरूलाई उनीहरूले घटाएका घटनाको पुनः सम्झना गराउने र पीडितले भोगेका पीडा र उनीहरूले राज्यका लागि गरेको योगदानलाई याद गराउने हेतुले स्मृति सम्मेलन आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रमका मुख्य वक्ता प्रा. डा. अभि सुवेदीले आज लेखिएका द्वन्द्वका क्रममा के भएको थियो र कसरी घटना भएको थियो भन्ने कुराहरू भबिष्यका पिँढीलाई सम्झना गराउनका निम्ति पनि द्वन्द्व प्रभावितहरूको कथाहरू अभिलेखीकरण जरुरी रहेको बताउनु भयो । सुवेदीले अहिले साहित्यकार र लेखकहरूले समाजका विभिन्न पाटोका कथालाई लिएर कृतिहरू प्रकाशन गर्ने गरेको भन्दै अब उनीहरूको ध्यान द्वन्द्वपीडितहरूको व्यथा सुनेर त्यसैमा आधारित भएर फिल्म, कथा, उपन्यास, स्मरण, आख्यान, कविता आधि लेख्नु पर्नेमा जोड दिनुभयो । प्रत्येक द्वन्द्वपीडितहरूसँग उनीहरू आ-आफ्ना स्मृतिहरू रहेको उल्लेख गर्दै सुवेदीले उनीहरूका व्यथाको अभिलेखीकरणमा राज्य, नागरिक समाज र साहित्यकारहरूले ध्यान दिनु पर्ने औँल्याउनु भयो ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले शान्ति प्रक्रिया भएको १७ वर्ष बितिसक्दा पनि अझै पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु राज्यका लागि एकदमै शर्मनाक विषय भएको उल्लेख गर्नुभयो । खरेलले मानव अधिकार आयोगले कारबाही सिफारिस गरेका उजुरीमा ५० प्रतिशत मात्र मुद्दामा कारबाही हुन सक्यो भने मात्र पनि पीडितले न्यायको महसुश गर्न सक्ने उल्लेख गर्दै पीडितको सम्झना स्मृति पार्क बनाउने, उनीहरूको योगदानको अभिलेखीकरणलाई चित्रकला, चलचित्र, वृत्तचित्र मार्फत समेटिएको खण्डमा पीडित परिवारले राहत महसुश गर्न सक्ने बताउनु भयो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिंगरले स्मृति सम्मेलन पीडितहरूको स्मृति मात्र नभएर यो द्वन्द्वकालीन घटनाको अभिलेख र कदर समेत भएको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वपीडितले न्याय पाएमात्र समाजले राहतको महसुश गर्न कुरामा जोड दिँदै द्वन्द्व प्रभावितहरूको स्मृति नै सङ्क्रमणकालीन न्यायको मुख्य कुरा भएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर